Harsamaya
इजरायलको आक्रमणमा परि गाजामा २० जनाको मृत्यु
तस्बिरः एजेन्सीको सहयोगमा

काठमाडौं - इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । अलजजिराले लेखे अनुसार गाजाको दक्षिणी राफाहमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएका थिए ।

आदेशपछि इजरायली सेनाले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ । मंगलबार भएका यी आक्रमणहरू अक्टोबर १० मा युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धविराम लागु भएयता भएका सबैभन्दा ठूलो हिंसात्मक घटनामध्ये एक भएको बताइएको छ ।

हमासको सशस्त्र इकाई ‘कसम ब्रिगेड्स’ले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बेपत्ता बन्दीको शव हस्तान्तरण गर्ने योजना स्थगित गर्ने चेतावनी दिएको छ । “इजरायलबाट हुने कुनै पनि बलपूर्वक कारबाहीले शवहरूको खोजी, खन्ने र निकाल्ने कार्यहरूमा बाधा पुर्‍याउनेछ,” विज्ञप्ति जारी गर्दै समूहले भनेको छ, “जसका कारण गाजामा रहेका बाँकी १३ बन्दीहरूको शव फेला पार्न ढिलाइ हुनेछ ।”

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुवै पक्षबाट आक्रमण र उल्लंघनको दाबी आए पनि युद्धविराम अझै कायम रहेको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update