Harsamaya
कात्तिक ७ : दिनभरका घटनाक्रम एक नजरमा

काठमाडौं - नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते
पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित स्वयम्भूबाट दुई जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

नहरमा डुबेर तीन जनाको मृत्यु
कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।  उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

गायिका पौडेलको निधन, गायक तथा संगीतकार बाबुल गिरी पक्राउ 
गायक तथा संगीतकार बाबुल गिरी पक्राउ परेका छन् । आत्महत्या दुरूत्साहन मुद्दामा गिरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी आजै पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको थियो ।

भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् ।

नेपाल इरानसँग पराजित 
त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update