काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
राष्ट्रपति रामचन्द्र पौडेल लगाए टीका
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
कुटपिटबाट झापामा युवकको मृत्यु
झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा
दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेश बहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
काठमाडौंमा मापसे जाँचमा कडाइ
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको छ ।
पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको दसैँको टीका र तिहारको भाइटीका नलगाएको र देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै शुभेच्छुकहरूसँग क्षमा मागेका छन्। सामाजिक सञ्जालमा बिहीबार एक सन्देश जारी गर्दै उनले भदौ २३ गतेको प्रदर्शनमा अमूल्य जीवनहरू गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसकेको पीडा बोकेर टीका लगाउन नसकेको उल्लेख गरेका हुन्।

