Harsamaya
काठमाडौंमा मापसे जाँचमा कडाइ
मापासे चेक गर्दै ट्राफिक प्रहरी ।

काठमाडौं - काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । 

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको छ ।

चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने प्रहरीको अपेक्षा अनुसार आज दिनभरी जनपद तथा ट्राफिक प्रहरी सडकमा खटिएको उनले बताए । 

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफै खटिएका छन् । उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलंकी, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए । 

भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update