Harsamaya
विश्वप्रकाश शर्माले भने - पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन
 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको दसैँको टीका र तिहारको भाइटीका नलगाएको र देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै शुभेच्छुकहरूसँग क्षमा मागेका छन्।

सामाजिक सञ्जालमा बिहीबार एक सन्देश जारी गर्दै उनले भदौ २३ गतेको प्रदर्शनमा अमूल्य जीवनहरू गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसकेको पीडा बोकेर टीका लगाउन नसकेको उल्लेख गरेका हुन्।

शर्माले हरेक वर्ष मेचीनगर धुलाबारीको आफ्नो आँगनमा लक्ष्मीपूजादेखि भाइटीका सकिएको दुई दिनसम्म गरी दुई सयभन्दा बढी देउसी टोलीलाई बिहान ७ बजेदेखि राति २ बजेसम्म स्वागत गर्ने गरेको स्मरण गरेका छन्। 

‘हरेक बर्ष मेचिनगर धुलाबारीको आँगनमा दुइसय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो । लक्ष्मीपुजादेखी भाइटिका सकिएर पनि अझै २ दिनसम्म । बिहान ७.०० बजेदेखी राति २.०० बजेसम्म । गाउँले साथिभाई, संघसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा’, उनले लेखेका छन्,  ‘तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन । आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन !’

यसका साथै, काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि डेराबाट अर्को डेरामा सर्नुपर्दा यहाँ पनि देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै उनले सबैसँग क्षमा मागेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update