
काठमाडौँ - कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
‘नेपालविरुद्ध भयावह षड्यन्त्र’ भयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् । बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे ।
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ। बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकि छन् ।
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन्
नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे ।अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भने, ‘गुण्डुमा हामी ओलीको लागि ओली कुटी बनाइदिन्छौं । यो जलाइएको घर राज्यको सम्पत्ति थियो । यसको लुटेरालाई समात्न गृहमन्त्रीलाई भन्छु । सरकारी कार्यालयहरु रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ । यसको मत्लब गृहमन्त्री थुनिएका मान्छेहरु छुटाउँदै छन् । गृहमन्त्री चाँही अपराधिहरु लुटेरा ठगहरुको प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ । त्यसकारण उहाँ सम्पूर्ण अराधको मतियार हो ।’
लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन्
गमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिब मजदुर किसान लगाएत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापीत भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका हुन् ।
देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं
जेन–जीको बलिदानबाट बनेको सरकार शहीद र घाइतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाईटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतिघरमा ‘भाइटीका’को दिन सामुहिक रुपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ । शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रुपान्तरण गर्न शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटीका’का दिन संघर्षको उद्घोष गर्ने बताए ।
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी ३५ जनाको मृत्यु
मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए ।
जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ । ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको हो । शुभ दीपावलिको अवसरमा जे.पी. स्मृतिको आयोजना र छायाँनाथ रारा नगरपालिकाको सह–आयोजनामा मुगु सदरमुकाम गमगढी स्थित महाकाली माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको छ।