Harsamaya
जेनजी युनाईटेड परिवर्तनले भन्यो : देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं
‘जेन–जी युनाईटेड परिवर्तन’ को पत्रकार सम्मेलन ।

काठमाडौं - जेन–जीको बलिदानबाट बनेको सरकार शहीद र घाइतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाईटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ । 

बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतिघरमा ‘भाइटीका’को दिन सामुहिक रुपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ ।

शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रुपान्तरण गर्न शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटीका’का दिन संघर्षको उद्घोष गर्ने बताए ।

जेन्जी शदिक्षा राईले अबको समय भनेको जेनजीहरुको भएको र सबै युवायुवतीहरु विभाजित भन्दा एक भएर देश बनाउन जुट्नु पर्नेमा जोड दिइन् ।

जेनजी अञ्जु राईले यो वर्षको भाइटीकालाई परम्परागत भन्दा पनि सम्पूर्ण जेनजीहरु एक भएर एकताको सन्देश दिएर देशलाई नयाँ दिशामा लग्नुपर्ने धारणा राखिन् ।

घाइते भूपेन्द्र खड्काले आफू जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका अगाडी २७ वटा छर्रा लागेको र सो छर्राहरु बोकेर सरकारलाई खबरदारी गर्न काठमाडौं आएको बताए ।

अर्की जेन्जी दिया बोहोराले अन्तरिम सरकारले सुशासन र भ्रष्टाचार मुक्त देश बनाउने मुख्य उद्देश्यसहित संघर्ष गरेकाहरुलाई वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् । बोहोराले परिवर्तनका लागि लडेका सम्पूर्ण जेनजीहरु एक नभए देश पछाडि फर्कने निश्चित भएकोले त्यसतर्फ सतर्क बन्न आग्रह गरेकी छन् ।

शहीद परिवार कमल सुवेदीले विभिन्न वार्ता तथा छलफलहरु भइरहे पनि त्यहाँ घाइते र शहीद परिवारको सदस्यहरुको अनुहार नदेखिनु दुर्भाग्य भएको बताए । 

‘वास्तविक जेनजी र प्रभावित व्यक्तिहरुलाई किनारा लगाइएको छ, हामीहरु प्रधानमन्त्री तथा सरकारी प्रतिनिधिहरुलाई भेट्न त परै जाओस सिंहदरबारभित्र पनि प्रवेश गर्न पाइरहेका छैनौं’, सुवेदीले भने ।

जेनजी प्रकृति श्रेष्ठले ८२ साल भोलिको भाइटिकाको दिन सम्पूर्ण शहिदहरुको श्रद्धासुमन कार्यक्रम राखिएको र माइतीघरको शोकसभामा सबै उपस्थित भएर सरकारलाई खबरदारी गर्न अनुरोध गरिन् ।

जेनजी प्रतिनिधि बरुण यादवले जेनजी युनाईटेड परिवर्तनले शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटीका’ले सम्पूर्ण जेनजीहरुलाई एक हुन सन्देश दिने विश्वास राखे ।

जेनजी प्रदिप भट्टराईले सम्पूर्ण जेनजीहरु एक ढिक्का भएर देश विकासमा लाग्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update