Harsamaya
कैलालीमा नहरमा डुबेर तीन जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गएको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।  

उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update