Harsamaya
उपत्यकामा करिब २०० जना मापसे कारबाहीमा
मापसे चेकिङ गर्दै ट्राफिक प्रहरी ।

काठमाडौं - जेनजी आन्दोलनपछि दसैँमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । 

‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’ , ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने,‘ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।’ 

उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update