सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधा तथा गाउँपालिका र मातहतका कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको भदौ महिनाको पारिश्रमिकबाट तहअनुसार तीनदेखि १० दिनसम्मको तलबभत्ता कट्टा गरी उक्त रकम जम्मा गरिने भएको हो।
गाउँपालिकाका अनुसार बाढी प्रभावित रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका गाउँपालिकाभित्रका ६ जना नागरिक अझै सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमान्डसँग नियमित समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।
सम्भावित विपद्का कारण बेपत्ता वा मृत्यु भएका व्यक्तिका परिवारलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट प्रति व्यक्ति एक लाख रुपैयाँ तथा काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले राष्ट्रिय संकटको यस घडीमा नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकलाई राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्न अपिल गर्नुभएको छ।

