Harsamaya
असोज ६ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौँ - जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अरु के के भए ? मुख्य समाचार ।

चार मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिह्ना, शिक्षा तथा विज्ञान प्रविधि महावीर पुन, कृषि मन्त्री मदन परियार र सञ्चार मन्त्री जगदीश खरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यस अघिको आवबाट जिम्मेवारी सरी आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७ हजार २६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४५ वटा (२७.६७ प्रतिशत) उजुरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन् । त्यसपछि क्रमशः लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्जाललगायतका माध्यमहरूबाट बढी उजुरी प्राप्त भएका आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

सञ्चारमन्त्रीको पहिलो निर्णय: देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा
सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा पाँच महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले कर्मचारीले ल्याएको प्रस्तावमा संशोधन गरी यो निर्णय गरेका छन् ।

जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरूको आहुति खेर नजाने बताएका छन् । सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरूको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।

पदभार ग्रहणपछि महावीरले भने: मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन् ।

मन्त्री घिसिङले गरे सूर्यविनायक–धुलिखेल सडकको अनुगमन
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका हुन् । छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।

नेपाल एयरलाइन्सले थाल्यो रारा विमानस्थलमा उडान
रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए ।

खुल्यो कोदारी राजमार्ग र मुग्लिन-नारायणगढ सडक
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार सो राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी, इर्कुसहित पाँच स्थानको पहिरो हटाएर सडक सञ्चालन गरिएको हो । यस्तै मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि बन्द भएको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update