Harsamaya
इर्कुको पहिरो हट्यो, खुल्यो कोदारी राजमार्ग 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार सो राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी, इर्कुसहित पाँच स्थानको पहिरो हटाएर सडक सञ्चालन गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएका थिए । 

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो ।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने काममा स्थानीयले अवरोध गरेका थिए । त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवालाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update