Harsamaya
असोज १: दिनभर के के भए ?
ग्राफिक्स: हर समय/Har Samaya

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा देशभर दीप प्रज्वलन गरिएको छ । अरु आज दिनभर के के भए ? मुख्य समाचारहरू ।

जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा दिइएको छ। सरकारको यो निर्णयलाई धेरैले मृतकप्रति सम्मानका रूपमा हेरेका छन् भने कतिपयले यसलाई आन्दोलनको गहिरो प्रभावका रूपमा व्याख्या गरेका छन्। आज नेपालभर सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थानदेखि विदेशस्थित नेपाली दूतावाससमेत बन्द छन्। साथै राष्ट्रिय झण्डा आधा झुकाइएको छ। 

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको जानकारी दिए । 

जनमत पार्टीका अध्यक्षको राजीनामा माग
जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् । जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिता अभाव तथा जनभावना विपरीत गतिविधि देखिएको उनीहरूको भनाइ छ । 

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । 

कक्षा १२ को पूरक परीक्षा 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । जसनुसार परीक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेपनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र ८ गते अनिवार्य नेपाली (००२१) परीक्षा रहेको छ । 

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन सरकारलाई आग्रह
जेनजी मुभमेण्ट एलाइन्सले आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै एलाइन्सले आन्दोलनका क्रममा भएको राज्य दमन विरुद्ध देशैभरि भएका प्रतिरोधजन्य घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह गरेको छ । एलाइन्सले जेनजी आन्दोलन र राज्यबीच स्पष्ट राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेको छ । यसैगरी, सरकारले घोषणा गरिसकेको जेनजी क्रान्ति मेमोरियल पार्कलाई काठमाडौंको खुल्ला मञ्चमा यथाशीघ्र निर्माण गरिनुपर्ने माग गरेको छ । शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको माग तत्काल सम्बोधन गर्न समेत जेनजी मुभमेण्टले आग्रह गरेको छ ।

मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरूले उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।

संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर
नेपाली कांग्रेसले यस वर्षको संविधान दिवस देशैभर भव्य रूपमा मनाउने घोषणा गरेको छ। पार्टीले असोज ३ गते शुक्रबार संविधान रक्षा गर्ने संकल्पसहित ७७ वटै जिल्लामा संविधान दिवस मनाउन सर्कुलर जारी गरेको हो। पार्टी उपसभापति पूर्णबहादुर खड्काले बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवसको तयारीबारे जानकारी दिए । उनले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापति, भातृ संस्था र शुभेच्छु संस्थाहरुलाई संविधानलाई हातमा राखेर संयमतापूर्वक दिवस मनाउन निर्देशन दिइसकिएको बताए । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update