Harsamaya
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर
कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले यस वर्षको संविधान दिवस देशैभर भव्य रूपमा मनाउने घोषणा गरेको छ। पार्टीले असोज ३ गते शुक्रबार संविधान रक्षा गर्ने संकल्पसहित ७७ वटै जिल्लामा संविधान दिवस मनाउन सर्कुलर जारी गरेको हो।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवसको तयारीबारे जानकारी दिए । उनले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापति, भातृ संस्था र शुभेच्छु संस्थाहरुलाई संविधानलाई हातमा राखेर संयमतापूर्वक दिवस मनाउन निर्देशन दिइसकिएको बताए । 

“संविधानको रक्षाका लागि हामी दृढ संकल्पबद्ध छौँ। यही संकल्पका साथ असोज ३ गते ७७ वटै जिल्लामा संविधान दिवस मनाउने निर्णय गरिएको छ,” खड्काले भने । उनका अनुसार, संविधान दिवसलाई सफल बनाउन पार्टीका सम्पूर्ण संगठन, कार्यकर्ता र समर्थकलाई सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।

सो अवसरमा उपसभापति खड्काले हालैको जेन-जेडी आन्दोलनका क्रममा भएको आक्रमण र तोडफोडको विषयमा समेत टिप्पणी गरे । उनले आन्दोलनकारीहरुले आगजनी र तोडफोडबाट पार्टी मुख्यालयलाई खण्डहर बनाउन खोजेको आरोप लगाए । 

त्यसैगरी, आन्दोलनकारीको कुटपिटबाट घाइते भएर उपचाररत पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भइरहेको जानकारी पनि खड्काले दिए । देउवाको निर्देशनअनुसार पार्टी गतिविधि अघि बढाइने समेत उनले स्पष्ट पारे । 

संविधान दिवसलाई भव्यताका साथ मनाउने निर्णयसहित नेपाली कांग्रेसले सिंगो पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update