Harsamaya
कविता : शुभकामना
ग्राफिक्स : हर समय/Har Samaya

कलिला केटाकेटीहरु
विद्यालय र कलेजकै पोशाकमा,
सडक भरि पोखिएका छन् ,
हातमा प्लेकार्ड छ,
भ्रष्टाचार हटाइ सुशासन अनि,
अधिकार र स्वतन्त्रताको लागि ।
हुल बाँधेर अगाडि बढिरहेछन,
सुरक्षाकर्मीको अवरोध छ,
अश्रु ग्यास र पानीको फोहरा,
लाग्छ, महाभारत युद्ध दोहोरिइ रहेछ ।

शासकहरु प्रतिको वितृष्णा,
युवाहरुको जागरुकता, अनि उत्सुकता,
जुलुस अगाडि बढ्दैछ, नाराहरु घन्कदैछन,
......... मुर्दावाद, ......... लाई फाँसी दे !!!
भष्टाचारीलाई कारवाही गर,सुशासन कायम गर ।
........ चोर, देश छोड, यस्तै यस्तै ।
उमेर समुहमा नपर्ने "म"
अमुक छु, नि:शब्द! हेरिरहेछु,
लाठी बज्रन थाले, जुलुसका टाउकाहरुमा,
यतिले पुगेन, गोली चल्न थाल्यो,
हेर्दाहेर्दै बच्चाहरु भकाभक पछारिन थाले,
सडक रगताम्य देखियो, मानौ म युद्धभुमिमा छु ।

पृथ्वी! तिमी एक्लियौं
समीपबाट इतिहासको रापले पोल्दै गर्दा,
भित्र धरोहर, आगोको लप्कामा छटपटिदै गर्दा,
नयाँ मुहारको अपेक्षामा लोभियौ कि!
ढोकै अगाडि ठिङ्ग उभिएर,
मेटिदै गरेको इतिहासको साँक्षी बस्यौं, तर
सन्ततिलाई दिने जवाफको हेक्का बिर्स्यौ ।
आफ्नै छातीमा अग्नि दहन हुँदा पनि,
केवल, औंला ठड्याई रह्यौ ।
लाचार बन्यौ, अनि टोलायौं मात्र,
सायद सोच्यौं होला,
निर्जीव छु; तर, म पनि त ईतिहास नै हुँ ।

आमा,
अहिले, फेरि अर्को प्रशव बेदनामा छौं,
पटक पटक छटपटायौं पीडामा,
कहिले राणाको चङ्गुल फुकाउन,
कहिले पञ्चायतको कालरात्री हटाउन,
स्थापित गर्न प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ।
तिम्रो गर्भगृहमा के कमी रहेछ कुन्नी!
दिन सकेनौं एउटा पनि असल पुत्र,
रस आउन्ज्याल, तिम्रै लाम्टो चुसे,
तिमी पनि सपनाहरु सजाउँदै चुसाई रह्यौ ।
आफ्नोले नपुगेर छिमेकीसँग पनि मागिदियौ,
हेर त, तिमीलाई फेरि नङ्ग्याईदैं छ ।
आफ्ना गहनाहरु, निमेषभरमै खरानी भए,
सन्तानको भरोषामा ढुक्क थियौं वा,
सन्तानकै मायाँमा लठ्ठियौ??

आमा,
यस पटकको तिम्रो सन्तान,
पुस्तान्तरणको नाममा,
आफ्नै घर बालेर आगो ताप्ने,
अनि, आफ्नै तेजोबध गर्ने नभई,
कलिला मुनाहरुको रगत,
रित्तिएका काखहरुको रोदन,
ठेला उठेका पिताहरुको ढाडस,
अनि राष्ट्रको गर्विलो मुस्कान दिने,
अदम्य साहस बोकेर जन्मियोस,
शुभकामना छ तिमीलाई ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update