
आहा!
नयाँ नाना , हातभरी चाचा,
अघाउन्ज्याल चिची,
आँगनमा बच्चाहरु फुरुङ्ग छन्,
कामना गर्दैछन्, सधैँ यस्तै होस् ।
आँगनीमा छरिएको खुसी,
अँगेनामा पाक्दै गरेको पीडा,
हावामा वाफ बन्दै पोखिइरहँदा,
सायद, कसौडीलाई नै मिठासको जिम्मा छ।
रमाउने र कमाउने,
समाउने र गुमाउने,
कराउने र भराउने बीचको
सन्निकटताको आभाष खोज्दा,
तल्लापट्टीको बिरौटो बन्धकी परेछ ।
साहु, अवसर खोज्दैछ,
आसामी, अवसर गुमाउँदैछ ।
गुमाउनुको पीडा बिर्सदै,
रमाएका छन् एकाएक सबै,
वा! बडो रमाइलोसँग बित्यो,
यस पटकको दशै ।
दशै त बित्यो,
तिहार,आँखीझ्यालबाट चिहाउँदै छ,
एकातिर,पिउने र पिलाउनेहरु,
‘प्याला’ मोहमा मग्न छन् ।
अर्कातिर,
उज्यालोको धिपधिपे खोज्न,
‘पाला’जगेर्नामा हराउँदै छन् ।
कस्तो बिडम्वना !
खोजाई र रोजाई,
प्याला र पाला,
अन्त्यानुप्रास उस्तै तर अभिष्ट फरक ।
अवसरको खोजीमा अवसर रेटिदैं गर्दा,
जिजिविशाको पल्लो बिटसम्म,
पुगिनसक्दै थिलथिलाएको उत्कर्ष,
उन्मादको लालसाले धकेल्दै गर्दा,
तेल रित्तिन लागेको सलेदो झैं,
चम्किएका छन मुहारहरु ।
दशैंको गर्जो त तल्लापट्टीले टार्यो,
अबको पालो पल्लापट्टीको छ ।