
एउटा भन्दैछ, बोल्न देउ,
अर्कोले तगारो तेर्स्याई रहेछ,
वैचारिक द्वन्दको खेलमा
विचारहरू अपहरणमा छन
जिब्रोहरु थुतिएका छन ,
वाक स्वतन्त्रतामा लगाम लाग्दैछ
चाणक्यहरु चतुरता देखाउँदै छन ।
सकुनीहरु कान भर्दैछन,
चाटुकारहरु तलुवा चाट्दैछन,
लालसाले मत्त पिपासुहरु
महिषाशुर झै लठ्ठीएकै छन ।
बोल्नु पर्छ ! शब्द सापटी लिदैंछु,
क्षणिक उन्मातमा उठेका पानी फोकाहरु,
झरीको झापटसँगै विलय हुँदैछन्
भरिया चित्कार पोख्दैछ,
गाँस छैन, झुम्रो छैन, झुप्रो छैन
दैनिकी हराएको छ
पैतालाले अलकत्रा नाप्दैछन,
निश्चित गन्तव्य, चलायमान पाउहरु,
फोका उठ्दैछन,फुट्दैछन
मानौ,ज्वारभाटा हो जीवन,
आकांक्षाहरु उद्वेलित हुँदैछन
निस्काशन अनि विलय पनि ।
सहयोगी हातहरु निकास खोज्दैछन,
सत्ताधारीहरु विनाश देख्दैछन,
मध्यमार्गीहरु, विचार उद्वेलित गर्दैछन,
कलमजीवीहरु कलम तिखार्दैछन,
श्रमजीवीहरु श्रम खोज्दैछन,
विश्व बन्दाबन्दीमा आक्रान्त छ,
जहाँ शब्द छन,आवाज छैन,
भोक छ,भोजन छैन,
निन्द्रा छ, ओछ्यान छैन
आशा छ, अभिलाषा छैन
मांशपिण्ड छ, मानवता छैन
सम्बन्ध छ, सामिप्यता छैन ।
स्वतन्त्रता छ, तर आभाष छैन ।
- गणेश हुमागाँई"मझेरी"
लाजिम्पाट, काठमाण्डौ ।