-1755572913.jpg)
आठ वटा साहित्यिक कृति प्रकाशन गरेका प्रेमकुमार राई ‘परीक्षित’ले खोटाङ जिल्लाको तत्कालीन सिम्पानी–५ कसेरीमा पहिलोपटक धर्तीस्पर्श गरेका हुन् । शहीदको सपना (कवितासङ्ग्रह) कृतिका रूपमा उनको पहिलो हो । कवितासङ्ग्रह दुई वटा, गीतसङ्ग्रह एउटा, बालगीति अल्बम एउटा, बाल–गीतसङ्ग्रह तीनवटा र एउटा नाटक उनका दर्ता भइसकेका सम्पत्ति हुन् । एम.बी.ए. र एम. एस्ट्रो पढेका उनको प्रथम प्रकाशित रचनाः तिम्रो निम्ति (गीत) हो । तिम्रो निम्ति (गीत) शीर्षकको कृति उनको सिकारु कलमको पहिलो उपज हो ।
कचनाकबलको उचाई (कवितासङ्ग्रह) र स्पर्श (गजलसङ्ग्रह) उनका प्रकाशनोन्मुख कृति हुन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि नै तयार भइसकेको उनी बताउँछन् । शुक्रमाया र मन्दिरजंग राईका छोरा परीक्षित हिजो र आजको साहित्य लेखनबारे यसरी तुलना गर्छन्– ‘साहित्य लेखनमा हिजो र आजमा धेरै फरक छ । हिजो त्यति खुलेर लेख्न सकिन्नथ्यो तर आज मज्जाले धक फुकाएर लेख्न सकिन्छ । अहिले प्रकाशनका हिसाबले पनि धेरै सहज छ । टाइप गर्ने मान्छे खोज्दै हिँड्नुपर्दैन । प्रकाशन गर्न नसके पनि सामाजिक सन्जालको माध्यमबाट आफ्ना सिर्जना अरूलाई साझा गर्न सकिन्छ । आफ्ना कृतिलाई डिजिटलाइज्ड गर्न सकिन्छ । अहिले साहित्यकार एवं लेखकलाई हरेक कुरामा सुबिधा छ । अहिले स्रोता, पाठक वा भावक खोज्दै हिँड्नुपर्दैन । तपाईंको सिर्जना राम्रो भए सामाजिक सञ्जाल प्रयोग गरेर राम्रै आय आर्जन गर्न सकिन्छ । तर आज साहित्यिक कृति चोरिने चुनौती पनि थपिएको छ । तर दुखको कुरो यति सुबिधा हुँदाहुँदै पनि आहा... भन्ने कृतिचाहिँ बजारमा कमै छन् । यसमा साहित्यकारहरूको ध्यान जानुपर्छ ।’उनै राईसँग हर समयका जयराम सापकोटाले गरेको कुराकानी ।
यहाँको साहित्य लेखन कहिलेबाट शुरू भयो ?
गीतचाहिँ सानैदेखि गाउथेँ । नेपाल आमा कहीँ छौ घाम भन्ने कक्षा गीत लय हालेर मीठो गरी गाउथेँ । गुरु र गुरुआमाले मैले गाएको गीत टेप रेकर्डरमा रेकर्ड गरेर सुन्नुहुन्थ्यो । लेखनचाहिँ कक्षा ९/१० मा पढ्दा शुरू गरेको हुँ । कविता लेखनमा भर्खर भर्खर पाइला चालेको हुनाले त्यति खारिएको हुन्न थियो लेखाइ । प्रवेशिका परीक्षा पास गरेर पढ्नका लागि काठमाडौं आएपछि मेरो साहित्य लेखनले गति लियो । त्यतिखेरै मैले पहिलो कविता कृति शहीदको सपना प्रकाशन गर्न सफल भएँ ।
साहित्यमा कलम चलाउन कसबाट र कसरी प्रभावित हुनुभयो ?
विद्यालयमा हामीले पढ्ने नेपाली पुस्तकमा कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मोहन हिमांशु थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविता पढिन्थ्यो गाइन्थ्यो । हो त्यतिखेर नै छन्दका बारेमा पनि थाहा पाइयो । रेडियो नेपालबाट यज्ञनिधि दाहाल दाजुको साहित्य संसार कार्यक्रम सञ्चालन हुन्थ्यो । यिनै शिखर–पुरुषहरूबाट साहित्यमा अघि बढ्ने प्रेरणा पाइयो । अर्को कुरा मेरो छिमेकी दाजुले आदिकवि भानुभक्त आचार्यका कृति ल्याई हामीलाई पढेर सुनाउनुहुन्थ्यो । म पनि खुब चाख मानेर सुन्थेँ । सुन्दा सुन्दै कण्ठ बनाएर गाउन सक्ने भएछु । जस्तै:
गजाधर सोतिकी घरबुढी अलिच्छिनकी रहिछिन्
नरक जानालाई सबसित बिदाबारी भइछिन्
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि भन्ने कुरा बडो अचम्मको हुँदो रहेछ । आज राम्रो लागेको सिर्जना भोलि राम्रो नलाग्दो रहेछ । के के नपुगेजस्तो यसको ठाउँमा यो लेखेको भए हुन्थ्यो भन्ने हुँदो रहेछ । तर समग्रमा आफ्नो लेखनमा सन्तुष्ट नै छु । थुप्रै ठाउँमा पुरस्कृत हुने अवसर पाएको छु र सम्मानित पनि भएको छु । यो देख्दा राम्रै लेख्दो रहेछु भन्ने अनुभूति हुन्छ मलाई ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अहिलेसम्म मेरा आठ वटा साहित्यिक कृति प्रकाशन भई बजारमा आइसकेका छन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि तयार नै भइसक्यो । अहिले ‘स्पर्श’ गजलसङ्ग्रह र ‘कचनाकवलको उचाई’ कवितासङ्ग्रह प्रकाशन गर्ने तयारीमा छु । पाण्डुलिपि तयार भइसक्यो । भाषा सम्पादनको काम धमाधम हुँदैछ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
अहिले मानव पुँजीको ठूलो महत्व छ । नेपालजस्तो मुलुकमा भौतिक विकासलाई मात्र विकास मान्ने चलन छ । तर विश्वका विकसित देशमा मानव पुँजीको विकासलाई मात्र विकास मानिँदो रहेछ त्यसपछि मात्र भौतिक विकास आउँदो रहेछ । अमेरिका त्यसै अमेरिका बनेको हैन रहेछ । त्यहाँ शिक्षा, साहित्य, विज्ञान प्रविधि सबैमा सन्तुलित रूपमा विकास भएको पाइन्छ । त्यहाँ साहित्यकारलाई बहुत सम्मान गरिँदो रहेछ । ती देशमा राज्यले उनीहरूको संरक्षण र प्रवर्धनका लागि धेरै लगानी गरेको हुन्छ । तर हाम्रो देशमा साहित्यकार भनेपछि अर्कै नजरले हेरिन्छ । भाषा साहित्य देशको पहिचान हो र साहित्य त्यसको आभूषण हो । यसको विकासका लागि राज्यको विशेष नीति, योजना र लगानी हुनु अपरिहार्य छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
नकारात्मकतावाद मेरो साहित्यिक आदर्श हो किनभने नकारात्मकता नभई यो ब्रह्माण्डमा कुनै कुराको सिर्जना नै हुँदैन भन्ने मेरो बुझाई हो र यही विषय वरिपरि मेरो साहित्य लेखन घुमिरहेको हुन्छ । यसका अतिरिक्त म मानवतावाद, सहिष्णुतावाद र अस्तित्ववादको पक्षपोषक हुँ । तिनै कुरा मेरो साहित्य लेखनका विषयवस्तु हुन् । मानवीय प्रवृत्ति पनि मेरो साहित्य लेखनको मुख्य विषयवस्तु हुने गर्छ– जुन कुराले मलाई साहित्य सिर्जना गर्न सधैं दबाव दिइरहन्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
नेपालमा लोकतन्त्र आएपछि साहित्यिक संघसंस्था खोल्ने बाढी नै आएको छ । धेरै साहित्यिक कृति पनि बजारले पाएको छ । तर, प्राथमिक र माध्यमिक कालमा जस्ता भव्य साहित्यिक कृति जन्मन सकेका छैनन् । साहित्यिक सिर्जनामा गुणात्मकता आउन नसकेको अनुभूति हुन्छ । यस कुरामा साहित्यकारको गहिरो चिन्तन र अध्ययन अनि परिपक्वताको आवश्यकता देख्छु म ।
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
लेखकीय हिसाबले त सन्तुष्ट नै छु । तर अहिले बजार चरम नाफामुखी भएको छ । आख्यानसम्बद्ध कृतिको बजार राम्रो छ र यस्ता कृतिले प्रकाशक पाउन गाह्रो छैन । तर राम्रो कविता लेख्न गाह्रो छ र लेख्नभन्दा बुझ्न गाह्रो छ । अहिले गाह्रो कुरा कसले गर्न चाहन्छ र ? यसकारण काव्य विधाले न बजार पाउँछन् न प्रकाशक । त्यसैले अहिलेका कवि त कविता लेख्न छाडेर आख्यानतिर पलायन भएका छन् । त्यो उनीहरूको बाध्यता हो । बाँच्नु त पर्यो नि । काव्यविधामा कलम चलाउने स्रष्टा आफैंले लगानी गरेर प्रकाशन गर्ने हो तर गरेको लगानी उठ्ने सम्भावना कम छ । यो कुरामा चाहिँ त्यति म सन्तुष्ट छैनँ । यसका लागि राज्यले राम्रा र असल कृतिलाई खोजी-खोजी प्रकाशन गर्ने व्यवस्था मिलाउनुपर्छ भन्ने मेरो राय छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ । साहित्य समाजको पथप्रदर्शक हो । त्यसैले साहित्यले युगलाई सही मार्गमा डोर्याउन सक्नुपर्छ र साहित्यमा ऊ बाँचिरहेको युग प्रतिविम्बित हुनुपर्छ । वास्तवमा साहित्यले आदर्श समाजको परिकल्पना गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सन्देश प्रवाह गर्न सक्नुपर्छ । समाजका बेथितिलाई सुन्दर ढङ्गले प्रहार गर्दै त्यसका कारकलाई पनि साहित्यको नदीसँगै डोर्याउने खुबी र कला हुनुपर्छ साहित्यमा ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
मान्छेलाई केही कुरा गर्न कुनै न कुनै कुराले प्रभावित पारिरहेको हुन्छ । खासगरी मान्छेको द्वैध चरित्रले गर्दा यो विश्व अशान्त छ । मान्छे एउटा कुरा भन्छ र गर्छ अर्को । यही कुराले अहिले मान्छे-मान्छेमा बेमेल र टकराब छ । यो मानव प्रवृत्तिलाई मैले मेरो साहित्य लेखनमा मुख्य विषय बनाउँदै आएको छु । मान्छे सर्वश्रेष्ठ प्राणी भनिन्छ तर उसको सोच र व्यवहार त्यस्तो देखिन्न । आखिर मान्छे किन यस्तो हुन्छ ? यो कुरा मलाई पटक्कै मन पर्दैन । जुन कुराले मलाई साहित्य सिर्जना गर्न प्रेरित गरिरहेको हुन्छ त्यसको बारेमा लेख्न घच्घच्याइरहेको हुन्छ । मेरो सदिच्छा छ– मेरो साहित्य सिर्जना पढेर मानिसले आफ्नो गल्ती महसुश गरून् र मान्छे साच्चिकै मान्छेजस्तै बनून् भन्ने नै मेरो मूल अभिप्राय हो ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
मेरो साहित्य सिर्जना गर्ने त्यस्तो कुनै निश्चित समयतालिका छैन । समय, परिस्थिति र घटना-परिघटनाले जब मलाई छुन्छ– तब मेरो कलम नलेखी बस्न सक्तैन । जब शान्त कलम आक्रोशित हुन्छ– तब महाकाव्यको जन्म हुन्छ । यो मेरो भनाइ हो । जब म अशान्त हुन्छु र मेरो मस्तिष्क अशान्त हुन्छ– तब म नलेखी बस्नै सक्तिनँ । कतिपटक त बाटोमा गाडीबाट झरेर बाटोको छेउमा उभिएर पनि लेखेको छु ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
अशान्त वातावरणलाई साहित्यमा उतार्न शान्त वातावरण चाहिन्छ । अशान्त वातावरण भन्नेबितिकै आन्दोलन लडाई झगडा घटनामात्र बुझ्नु हुन्न । मैले कुनै सुन्दर कुरा देखेँ भने त्यसले मेरो मनलाई अशान्त बनाइदिन्छ । त्यसबेला या उक्त कुरा स्पर्श गर्न म लालायित हुन्छु या त त्यसबारे लेख्न । कुनै कुराले मन र मस्तिष्कमा हलचल हुनु नै अशान्तको परिभाषा हो । स्थिर मनस्थितिले राम्रो सिर्जना जन्माउन सक्तैन । असाधारण परिस्थितिमा लेखिएका सिर्जनाले नै जीवन्तता प्राप्त गर्दछन् ।
तपाईं लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
म अलि आदर्शवादी छु । मेरो सिर्जनामा कुनै न कुनै रूपले आदर्शवादी चिन्तन छिरेका छन् । मैले विषयवस्तु छान्नुभन्दा नि घटना-परिघटना र ठाउँ अनि परिस्थितिले विषयवस्तु जन्माउँछ । यही विषयवस्तुमा लेख्छु भनेर म कहिल्यै फ्रेम्ड भएर लेख्दिनँ ।
सफल स्रष्टा हुन आवश्यक गुण के-के हुन् ?
सफल स्रष्टाको प्रमुख गुण भनेको निरन्तर साधना नै हो । सफल शब्दसँग असल शब्द पनि जोडिएको हुन्छ । हरेक सफल स्रष्टाको व्यवहार पनि असल हुनु अपरिहार्य छ । स्रष्टाको साहित्य सिर्जना उसको मनको भाव हो अनि आदर्श हो। त्यसैले सिर्जना र स्रष्टाको व्यवहार निरपेक्ष हुनु हुँदैन । जुन स्रष्टाले गहिराईमा पुगेर पाठकको मथिङ्गलमा हलचल मच्चाउने खालका सिर्जना पस्किन्छ र सधैं सम्झिरहने पात्र बन्दछ– उही सफल स्रष्टा हो ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
विधागत रूपमा भन्नुपर्दा आख्यान विधा त्यसमा पनि कथा, उपन्यास, यात्रा संस्मरण आदिको बढी पाठक छन् र हुन्छन् । यी विधा बुझ्न सरल र सहज हुने भएकाले पनि पाठकहरू बढी आकर्षित हुनु स्वाभाविक छ । कवितामा अलंकार, प्रतीक र विम्बले गर्दा नि बुझ्न गाह्रो हुन्छ । विज्ञान र गणित बुझ्न गाह्रो हुने भएकाले कमै विद्यार्थीले पढेजस्तै कविता लेख्न र बुझ्न एकदमै गाह्रो लाग्ने विधा हो ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
काल्पनिकतामात्र बढी र सजीवता भएन भने सिर्जनाले जीवन्तता पाउँदैन । कल्पना गर्ने क्षमता भएकै कारण मान्छे सर्वश्रेष्ठ प्राणी भएको हो । साहित्य सिर्जनाले पाठक र भावकको मनमा तरङ्ग उत्पन्न गर्नुपर्छ । पाठकलाई रुवाउनुपर्छ, हसाउनुपर्छ र कल्पनाको उडान गराउनुपर्छ । यस्ता कृति नै युगयुगान्तर बाँचिरहन्छ । जस्तै मुनामदन, बसाई उपन्यास, दोषी चस्मा, तरुणतपसी, घुम्ने मेच माथि अन्धो मान्छेजस्ता कृतिले मानिसको हृदयको भित्री तहसम्म गएर छोएका छन् ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जुन बेला एउटा घटना आएर मेरो मस्तिष्कमा बसिदिन्छ, त्यसको इमेज बसिरहन्छ त्यसले न मलाई सुत्न दिन्छ न निदाउन । अनि त्यसको निकासका रूपमा लेख्ने बाध्यता महशुस हुन्छ । लेखिसकेपछि मन शान्त हुन्छ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
पहिला रहरले साहित्यमा लागिन्छ । तर रहरले मात्र सफल साहित्यकार नबनिँदो रहेछ । यसका लागि लामो साधना, गहिरो अध्ययन र अटुट धैर्यता चाहिने रहेछ । लोकप्रियता प्राप्त गर्ने उद्देश्यले भन्दा पनि साहित्य लेखनलाई प्रमुख रुचि बनाएर अघि बढ्दा साहित्यमा राम्रो गर्न सकिने रहेछ । साहित्य साधनामा डुबेपछि सारा कुरा बिर्सिइँदो रहेछ । कतिपय अवस्थामा पारिवारिक विखण्डन र अभावग्रस्त जीवन पनि झेल्नुपर्ने हुँदो रहेछ । समस्याले थिच्दै जाँदो रहेछ । त्यसबेला धैर्यताको बाँध फुट्यो भने साहित्य लेखनले निरन्तरता पाउँदैन । त्यसैले साहित्यमा आउनु भनेको एउटा कठिन तपस्या पनि हो । जो यो तपस्या सफल पार्छु भनेर आउँछ– ऊ नै भविष्यमा एक सफल साहित्यकार बन्छ ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
एउटा त विचार र सिद्धान्त मिलेर पनि हुन सक्छ । रामेश मन्जुलहरूले धेरै जनवादी गीत सिर्जना गरे । जनताको स्वतन्त्रता, मानवअधिकार र मुक्तिका लागि राजनैतिक दलसँग आबद्ध भएर आन्दोलनमा पनि सक्रिय भाग लिए । अर्को कुरा सबै मानिस अवसरको खोजीमा हुन्छन् नै । यो मानवीय स्वभाव पनि हो । लेखक साहित्यकार पनि मानिस नै हुन् । त्यसैले आफ्नो अभीष्ट पूरा गर्न र अवसर प्राप्त गर्न स्रष्टाहरू दलको झण्डामुनि ओत लागेको हुन सक्छ किनभने अहिले हरेक कुरा दलीय भागबण्डामा चलेको छ– जुन कुरा हट्नु अनिवार्य छ । त्यो नहुँदासम्म जति सक्षम भए पनि सीमान्तकृत भएर टुलुटुलु हेर्नुबाहेक अर्को विकल्पै छैन ।
अचेल कलम हँसिया भएका छन् ।
अचेल कलम रुख भएका छन् ।
अचेल कलम मसाल भएका छन् ।
अचेल कलम अबगाल भएका छन् ।
अचेल कलम कलमजस्तै छैनन्
अचेल अक्षर अक्षरजस्तै छैनन्
किनभने
अचेल कलम अक्षर लेख्दैनन्
अचेल कलम भुत्ते भएका छन् ।
अचेल कलम बेनिव भएका छन् ।
अचेल कलम आफैं लेख्दैनन्
अचेल कलम आफैं बोल्दैनन्
अचेल कलम परिचालित छन्
अचेल कलम परनिर्भर छन्
अचेल कलम बेकाम भएका छन्
अचेल कलम चिट्ठी हैन खाम भएका छन् ।