काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको सचिवालयले सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमले काँग्रेसबाट समानुपाति सांसद बनेकी रुक्मिणी कोइरालाको नाम डा. शेखरसँग जोडेको भन्दै सचिवालयले आपत्ति जनाएको हो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सार्वजनिक अभिव्यक्तिमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार लेख्दा के लेख्दैछु भन्ने सोचेर लेख्न सुझाव दिएका छन् । उनले कोइरालाका श्रीमती पुनम राजनीतिमा कहीँ कतै संलग्न नभएको पनि स्पष्ट पारेका छन् ।
थपिलयाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डा शेखर कोइरालाकी पत्नीको नाम पूनम कोइराला हो । राजनीतिमा उहाँ कहीँ कतै हुनुहुन्न । समानुपातिक प्रणालीबाट संसद बन्नुभएकी बिराटनगर महानगरपालिका वार्ड नं-६ निवासी रुक्मिणी कोइराला नेपाल महिला संघकी पुर्व केन्द्रीय उपसभापति हो । उहाँको नाम २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ मा समेत समानुपातिक सुचीमा नाम समावेश थियो ।’

