विराटनगर - नेपाली कांग्रेसका वरष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर–६ बाट लड्दा भएको चुनावी खर्चको विवरण पेश गरेका छन्।
उनले पेश गरेको विवरणअनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ४९ पैसा खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणमा सबैभन्दा धेरै रकम प्रचार–प्रसार सामग्री छपाइमा खर्च भएको देखिन्छ। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणा पत्र, झण्डा र फ्लेक्स छपाइका लागि १६ लाख ४६ हजार ६०९ रुपैयाँ ११ पैसा खर्च भएको जनाइएको छ।
यस्तै, स्टेशनरी सामग्रीमा १ लाख ४ हजार ५०० रुपैयाँ, प्रचार–प्रसार व्यवस्थापनमा १ लाख १३ हजार रुपैयाँ, प्रचार कार्यालय सञ्चालनका लागि टेन्ट खर्च ४० हजार रुपैयाँ र यातायाततर्फ ७९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
त्यसैगरी इन्धन खर्च १ लाख १६ हजार ३९ रुपैयाँ ५० पैसा, खाजा तथा खाना खर्च १६ हजार ६६० रुपैयाँ र मसलन्द खर्च ३५ हजार रुपैयाँ रहेको देखिन्छ।
उक्त खर्च विवरण बैंकमार्फत गरिएको कारोबारका आधारमा तयार गरी सम्बन्धित निर्वाचन कार्यालयमा पेश गरिएको जनाइएको छ।


