Harsamaya
कविता : म ईन्जिनियर !
ग्राफिक्स : हर समय/Har Samaya

पारी गाँउमा कुकुर भुक्दैछन्,
मानिसको कोकोहोलो पनि सुनिदैंछ,
काँल्लामा मानिसहरू उभिए झै देखिन्छ,
आकाश रोईरहेको छ,
गोधुलीमय क्षितिज निहालिदैंछ अझै,
खहरे सुसाउँदै उर्लिरहेको छ,
म वल्लो क्षितिजमा अडिएको छु ,
आँखाले तस्वीर लिईरहेछु,
तर, जान सकेको छुईन,
किनकि ! म ईन्जिनियर ।

बाढी घट्ने संकेत छैन,
एकनाशले वाछिटाहरू उछिटिदै छन्,
कमेरे माटोले बाटो लतपतिई रहेछ,
कतै रक्तनली फुटेजस्तै, रक्ताम्य छ,
खुट्टाहरू अस्थिर छन्,
मानौं, चुम्बकीय विकर्षण छ ।
मनले पारि क्षितिज कल्पदैंछ,
तन उछिट्टिन सकेकै छैन अझैं,
किनकि ! म ईन्जिनियर ।

एक तमासले बादल मडारिदैंछ,
आकास गर्जदैछ, बिजुली चम्किरहेछ,
अनिष्ट निम्तने निश्चितप्राय: छ,
यत्तिकैमा; गड्याम्म आवाज आयो,
आकाश ढाकिने गरी कागहरू उडे,
म वल्लो क्षितिजमै लगलगाई रहेछु,
आवाजसँगै कल्पन्छु मात्र,
किनकि ! म ईन्जिनियर ।

बादलका पछ्यौरीहरू हटेसँगै,
आकाशले रंग फेर्दै गयो,
खहरेहरू पनि थाकेछन्, सायद,
सुस्केरा हराए झैं भयो,
होस हराएको ‘म’ जोशमा आएँ,
आतुर पाउहरू पल्लो क्षितिज तिर बढे,
रोदन अलि वरसम्मै सुनियो ;
चिच्याहटले कान बन्द भए झैं भयो,
आँखा मान्दै थिएनन्, मैले गलत देखेँ,
सन्नाटा पछिको कोलाहल,
हिजो राति नै पहाड पछारिएछ,
कठै ! दुई परिवार बडारिएछ ।

प्रविधिको विज्ञ म,
विनाशका ठूला भुमरीहरू पर्गेलेको,
धेरै संरचनाहरु हातैले कुँदेको,
आफ्नो विज्ञताले आफैंलाई उपहास गरे झैं,
चुनौतीका ठेलीहरू प्रश्नमा रुपान्तरित भए,
आँखै अगाडि पहाड बग्यो, परिवार हरायो,
खहरेको ताण्डवताले मलाई छेकिरह्यो,
मन; अमिलिएर आयो,
मेरो प्रविधिले मलाई नै सघाएन,
मेरो भूगोलले म माथि नै प्रश्न राख्यो,
तर,आँखाको ओश नओभाउँदै,
म कर्तव्यले झस्किएँ अनि हतासिएँ पनि,
किनकि! म ईन्जिनियर ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update