Harsamaya
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री

वि.सं. २०३२ साल देखि  नेपाली साहित्य लेखन सुरु गरेका स्रष्टा हरि मञ्जुश्रीको हालसम्म   सय ३९ वटा पुस्तक छापिइसकेका छन् । उनका मौलिक कृति ३३ वटा छन् । अनूदित कृति एउटा छ भने सम्पादित कृति एक सय पाँच वटा छन् । भोजपुरको दिङ्लामा जन्मिएका उनले स्नातक तह उत्तीर्ण गरेका छन् ।  उनको  प्रथम प्रकाशित रचना असफलता (कविता, विवेचना साप्ताहिक, झापा, २०३४) हो । 

उनका ३३ वटा मौलिक कृतिमा कविता–काव्य पाँच वटा, कथा विधाका चार वटा, निबन्ध सङ्ग्रह ११ वटा, उपन्यास दुई वटा, जीवनी दुई वटा, भाषा–व्याकरणका दुई वटा, अनुसन्धानात्मक कृति छ वटा र हाते किताब एउटा छापिएका छन् । अनुवादचाहिँ हिन्दीबाट नेपालीमा गरेका छन् भने सम्पादन गरेका एक सय पाँच वटा कृतिमध्ये स्मृति ग्रन्थ २८ वटा, कविता–काव्य २४ वटा, अभिनन्दन ग्रन्थ १५ वटा, लेख–समालोचनाका सङ्ग्रह ११ वटा, धर्म–संस्कृतिसम्बन्धी पुस्तक १० वटा, व्यक्तिवृत्त चार वटा, अनुसन्धानात्मक कृति चार वटा, अन्तर्वार्ता सङ्ग्रह चार वटा, संस्मरण सङ्ग्रह तीन वटा र कथासङ्ग्रह एउटा छन् । 

उनकी श्रीमती गीता अधिकारीका ५–६ वटा, छोरी रश्मिका तीन वटा अनि छोरा रोशनको एउटा पुस्तक पनि  बजारमा आइसकेको छ ।   कामना चलचित्र पत्रिका, साधना डाइजेस्ट, नेपाली आवाजजस्ता विभिन्न पत्रिकाको सम्पादन गरेका  उनले विभिन्न संस्थाका मुख पत्रको पनि सम्पादन गरेका छन् भने उनी स्तम्भकारको रुपमा पनि चिनिन्छन् । 

उनका पुस्तकबाहेक करिब १५ सय जति फुटकर रचना पनि छन्  ।  करिब तीन सय पुस्तकमा प्रकाशकीय र करिब एक सय ५० पुस्तकमा मन्तव्य लेखेका उनकै कथामा ‘मास्टरजीको सपना’ भन्ने एउटा टेलिचलचित्र समेत बनेको छ । 

साहित्यिक सत्कर्ममा ज्यान दिएका उनका तीन वटा रेडियो नाटक प्रसारण भएका छन् । सङ्गीतकार र गायक बन्नेमा पनि उनको नाम छुटेको छैन । शब्द यात्रा प्रकाशनको स्थापना गरेर त्यसको नेतृत्व गरिरहेका उनी दाबी गर्छन् । 

उनका छोराछोरी पनि गायक छन् । अरूका गीतमा सङ्गीत भर्ने काम पनि उनले गरेका छन् । मोहन दुवालको ‘जनमत’ मासिक पत्रिका र प्रदीप केसीको ‘मध्यदीप’ मासिक पत्रिकाले ‘हरि मञ्जुश्री विशेषाङ्क’ छापेका छन् । उनका कृतिका विषयमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्ने १३ जनाले शोध प्रबन्ध लेखेका छन् । यतिमात्र होइन– एकल पुस्तक प्रदर्शनी गर्ने नेपालको पहिलो लेखक पनि उनै हुन् । उनै हरिसँग हर समयकालागि जयराम सापकोटाले गरेको कुराकानीको अंश ।

यहाँको साहित्य लेखन कहिलेदेखि सुरु भयो ? 

वि.सं. २०३२ देखि । त्यति बेला मैले लेखेको कथा ‘विजया तीको कथा’ हो । नाटक र कविता पनि लेखेँ । छापिएको पहिलो कथाचाहिँ २०३५ मा लेखेको ‘पुरानो कथा’ र पहिलो कविता ‘असफलता’ हो । 

तपाईँ साहित्य लेखनमा कसबाट र कसरी प्रभावित हुनुभयो ? 

भोजपुर दिङ्लामा छँदा अनेकौँ असन्तुष्टिबाट । काठमाडौँ छिरेपछि अभावबाट, अरूबाट पाएको हेला र तिरस्कारबाट । बाँच्नका लागि सानैदेखि धेरै सङ्घर्ष गरियो । अपमान र घृणा धेरै पचाइयो । अन्तर्मुखी स्वभाव भएकाले धेरै रोइयो, तर आफ्नो दुःख कसैलाई सुनाइएन । मेरा आँसु अक्षरका रूपमा बगे र म साहित्यिक क्षेत्रमा लागेँ । आफ्नो रुचि, परिवारको चाहना र सामाजिक वातावरणबिच तालमेल मिलाउन नसकेर मैले धेरै हन्डर पाएँ । धेरै कुरालाई तिलाञ्जली दिएर म मेरो क्षेत्रमा अहिले उभिएको छु । 

कसरी अघि बढिरहेको छ त लेखन गतिविधि ? 

लेखिरहेको छु । साहित्यिक सिर्जना गर्ने प्रभाव र प्रेरणा आफ्नै घरपरिवारभित्र रह्यो । बुबा–काकाहरू लेखपढ गर्ने हुनाले र सानैदेखि हामीलाई ‘गुरु खाल’ भनी गाउँलेहरूले ‘तिनीहरूका घरमा त गाई बाख्रा पनि पढ्छन्’ भन्ने गरेको कुरा सानैदेखि सुन्ने गरेकाले शायद म थाहै नपाईकन यसतर्फ प्रेरित बनेँ हुँला । अलि ठूलो भएपछि विभिन्न प्रकारका सङ्घर्ष, लेखन क्षेत्रका विभिन्न व्यक्तिको सङ्गत र लेखनवृत्ति नै गर्नुपर्ने परिस्थितिजन्य बाध्यताले गर्दा म लेखन र सम्पादनतिर लागेँ । लेखनमा भन्दा सम्पादनतिर म एकोहोरिएको छु  ।

तपाईँ वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ? 

छैन । मैले चाहेजस्तो मैले नै लेख्न सकेको छैन । अन्य कतिपय लेखकको लेखनले पनि म सन्तुष्ट हुन सकेको छैन । कस्तो लेखनले मलाई सन्तुष्ट पार्छ भन्ने कुरा नै मैले बुझ्न नसकेको हो कि जति लेखे पनि, जति पढे पनि नअघाएर हो, म सन्तुष्ट हुनै सकिनँ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि तपाईँ ? 

नयाँ कृति धेरै तयार गर्नु छ, गरिरहेको पनि छु । सम्पादनमा पाँच–छ वटा र लेखनमा तीन–चार वटा कृति प्रकाशन गर्नै पर्ने भएको छ । काम गर्दै छु । 

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ? 

राष्ट्रले साहित्य र स्रष्टाप्रति जिम्मेवारीको बोध गरेकै छैन । जिम्मेवारीको बोध भए मात्रै यस्तो जिम्मेवारी हुन्छ भन्न सकिन्छ । 

तपाईँको साहित्यिक आदर्श के हो ?

समाजलाई राम्रो दिशामा लैजान उत्प्रेरित गर्ने साहित्यलाई मात्रै म साँच्चैको साहित्य मान्छु । साहित्यिक विधामा लेखिएको जुनसुकै लेखोट साहित्य हुँदैन । त्यसैले साँच्चैको साहित्य सिर्जना गर्ने साहित्यकार मलाई मन पर्छ । सम्भव भएसम्म म अर्काको विचारको पछि लाग्न खोज्दिनँ । शरीरलाई असर पार्ने कसैको जूठो त म खान चाहन्नँ भने बौद्धिकता र मानसिकतालाई नै असर पार्ने अरूको जूठो विचार हत्तपत्त ग्रहण गर्न हुँदैन भन्ने मलाई लाग्छ । नजानेको बेलामा मैले जूठो खाना र जूठो विचार दुवै खाएको छु । अचेल म ती दुवैबाट बच्ने प्रयास गरिरहेको छु किनभने मानव जातिका लागि जूठो खानाभन्दा जूठो विचार खतरनाक हुन्छ । अर्को कुरो, मैले सबैभन्दा राम्ररी चिन्ने भनेको मलाई नै हो र मेरा क्रियाकलापलाई डोर्‍याउने पनि म नै हुँ । त्यसैले म आफैँबाट या आफ्नै विचारबाट प्रभावित छु । मबाहेक मेरो अर्को आदर्श छैन । अर्कोलाई आदर्श बनाएर म आफ्नोपनलाई हराउन चाहन्नँ । 

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व बहन गरिरहेका छन् त ? 

राजनीतिक दलका झोले कार्यकर्ता नबनेका लेखकले त लेखकीय दायित्व पूरा गरेकै देख्छु ।

तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ? 

अहँ । म सन्तुष्ट भएँ भने मेरो सृजनशीलता नै मर्छ । 

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

हिजोको जस्तो बौद्धिकता आजको साहित्यमा छैन जस्तो लाग्छ । अचेलको साहित्यमा पत्रकारिता लेखनको प्रभाव परेको छ । 

तपाईँको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ? 

तपाईँको प्रश्न साहित्यिक सिद्धान्तसम्बन्धी हो भने म कुनै साहित्यिक सिद्धान्तबाट प्रभावित बनेर त्यसैअनुरूप साहित्यको सिर्जना गर्ने व्यक्ति परिनँ । राजनीतिक सिद्धान्तप्रति तपाईँको प्रश्न लक्षित रहेको हो भने म आजसम्मका कुनै पनि राजनीतिक सिद्धान्तबाट प्रभावित भएर लेख्नुपर्छ भन्ने मान्यता राख्दिनँ, बरु साहित्यको अध्ययन गरेर राजनीतिकर्मीहरूले आ–आफ्नो सिद्धान्तलाई परिष्कृत बनाउनुपर्छ भन्ने मान्यता राख्छु । राजनीतिले सपार्ने र बिगार्ने दुवै कार्य गर्छ, तर साहित्यले कहिल्यै बिगार्दैन । यसो किन हुन्छ भने जुनसुकै राजनीतिक सिद्धान्तको पक्ष र विपक्ष हुन्छ, तर सच्चा साहित्यको विपक्ष नै हुँदैन । अर्काको विचारको पछि लाग्यो भने आफ्नो विचारको हत्या त्यो विचार नजन्मिँदैमा हुन्छ र जन्मिन नसकेको विचार स्थापित हुन सक्ने कुरै हुँदैन । मेरो यही विचार साहित्यमा आएको हुनुपर्छ, यद्यपि म साहित्यमा सामाजिक र राजनीतिक दुरवस्थाबाट संवेदनशील हृदयमा उत्पन्न उद्वेलनलाई बढी महत्त्व दिन्छु, राजनीतिक सिद्धान्तलाई दिन्नँ । मलाई लाग्छ संसार बिग्रिएको छ भने नकारात्मक चिन्तन बोकेर चलाइएको प्रतिस्पर्धात्मक राजनीतिक अभियानले बिग्रिएको छ, संसार सप्रिएको छ भने सकारात्मक चिन्तनतर्फ मानवलाई डोर्‍याउने नवीन प्रस्तुतिसहितको साहित्यका कारणले सप्रिएको छ । विनाश राजनीतिले गराउँछ, साहित्यले गराउँदैन । त्यसैले मान्छेको मनोवृत्तिलाई सपार्ने साहित्य लेखिनुपर्छ भन्ठान्छु । 

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

मैले साहित्यमा समेट्ने विषय भनेका नै सामाजिक र राजनीतिक क्षेत्रका आफूलाई कुनै न कुनै रूपमा उद्वेलित बनाउने विषयहरू हुन् । म प्राणी जगतमा कसैप्रति कुनै पनि प्रकारको अन्याय नहोस् भन्ने चाहन्छु र अन्याय भएको देखेपछि त्यसैलाई विषयवस्तु बनाउँछु । त्यसैले मलाई प्रेरणा दिने विषय नै सामाजिक र राजनीतिक क्षेत्र हुन् । 

तपाईँको लेख्ने निश्चित समय छ कि ? 

छैन । मेरो मस्तिष्कमा अक्षर अट्ने ठाउँ मात्रै छ कि जस्तो लाग्छ मलाई । जुनसुकै बेलामा साहित्यको जुनसुकै विधा र विषयमा लेख्न सक्ने सामर्थ्य दिएर प्रकृतिले ममाथि ठूलो गुन लगाएको छ । 

लेख्न कस्तो वातावरण चाहिन्छ ? 

मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु । लेख्ने बेलामा हल्लाखल्ला नै भए पनि म आफ्नै लेखाइ र विषयवस्तुमा एकोहोरिन सक्छु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

म विषयवस्तु छान्दिनँ । विषयवस्तु नै मलाई छान्दै आउँछन् ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ? 

सफलता र असफलताको मापदण्ड नै हुँदैन । त्यसैले यस प्रश्नको उत्तर दिन सकिँदैन । 

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ? 

आख्यान, व्यक्तिवृत्त र अनुभव–लेखन मन पराएजस्तो देख्छु । 

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ? 

साहित्यमा बहुसङ्ख्यक पाठकको हृदय झङ्कृत गराउने विचार, बहुसङ्ख्यक पाठकले देखेका र भोगेका विषयवस्तु र बहुसङ्ख्यक पाठकका लागि सुरुचिपूर्ण अभिव्यक्ति कौशल, पुस्तकको भाषा सरल र कलेवर आकर्षक हुनुपर्छ । सजीवता र काल्पनिकताले कुनै असर पर्दैन ।  

लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ? 

विचारहरू मडारिएर छाती फुट्लाजस्तो भएपछि नलेखी धरै पाइँदैन । 

किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन् ?

आफ्नो क्षमतामा विश्वास नभएपछि र पदको चाहना बढेपछि राजनीतिक दलको झन्डामुनि ओत लाग्न जानु स्वाभाविकै हो । 

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ? 

मेरो हैसियत सुझाव दिने होइन, लिने हो । तैपनि कुनै पनि लेखकले आफू, आफ्नो भावना र आफ्नो राष्ट्रिय–सामाजिक परिवेशप्रति कहिल्यै बेइमानी गर्नु हुँदैन भन्नचाहिँ सक्छु । हरेक लेखकको आफ्नोपन हुन्छ । मेरो सुझाव मानेर नयाँ लेखकले मजस्तो किन हुनु ?

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update