Harsamaya

काठमाडौं - देशभर तीजको रमझम चलीरहँदा उदयपुर गाई घाटकी सन्जुदेवी चौधरी भने मकै बेच्न बेस्त छिन् । करिब २० वर्षदेखि  मकै बेचेर आफ्नो जीवन गुजार्दै आएकी छिन् ।  बाहिरबाट देख्दा अरू महिलासँगै उनी पनि दर खाने तयारीमा व्यस्त देखिन्छिन्, तर उनको मन भने अपूरो इच्छाले चिरा परेको छ । ‘हामीले पनि दिनकै दर खाइरहेका छौ । सहकारी, र मकै साहुनीहरूले बोलाएका छन् । त्यही जाने तर पैसा नभएकाले खासै खर्च गर्न सकिँदैन । भाकल राखेर, भगवानलाई सम्झेर तीज मनाउने हो,’ उनी भन्छिन् ।

उनलाई तीजमा माइती जाने चाहना  छ । तर, आमा–बुबा यस संसारमा नहुँदा उनको यँ चाहना पुरा नभएको वर्षौँ भइसक्यो ।  उनलाई त्यसयता कहिले तीजले छोएन ।  उनी भन्छिन् भाइ बुहारीहरूले कहिल्यै सम्झिँदैनन् । ‘आमा–बुबा हुँदा मात्र माइती हुन्थ्यो, अब त माइती भन्ने ठाउँ पनि छैन । तीजजस्तो चाडमा माइतीको याद आउँछ तर के गर्ने, केही गर्न नसकिने रहेछ ।

खोटाङ दिक्तेल घर भई हाल ललितपुरमा चटपटे र पानी पुरी बेचेर गुजारा चलाइरहेकी तिला मगरले पनि तिज नमनाई धेरै वर्ष बिताइसकिन् । उनको कथा झन् पीडादायी छ । सन्तान भएर पनि एक्लो जीवन बताइरहेकी उनले लकडाउनदेखि नै यो व्यवसाय सुरु गरेकी हुन् ।  परिवारमा दुई छोरा, दुई छोरी भए पनि उनी एक्लै बस्छिन् ।

‘श्रीमानको मृत्यु भएदेखि नै उनको जीवन एक्लै बितेको छ । ’ उनी भन्छिन्,‘छोरीहरूले कहिलेकाहीँ हेर्छन् तर बिहे भइसकेका छोरीसँग के माग्नु ? छोराहरूले त झन् खासै वास्ता गर्दैनन् ।’

उनको लागि तीज भनेको अरूको रमाइलो मात्र हो । आफ्नै लागि भने तीज नआइदिए  हुन्थ्यो जस्तै  लाग्छ उनलाई । ‘पैसा जम्मा गरेर साडी किन्ने त परको कुरा भयो, कोठा भाडा तिर्ने जति मात्र कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘अहिले तीजमा अरूले सजिएर रमाइरहेको देख्छु, तर मलाई भने कुनै अर्थ छैन । आफ्नो भन्ने कोही छैन, कहाँ गएर के गर्ने ?’

माइतीघरमा पनि अब उनलाई कसैले सम्झिँदैन । ‘बुबा–आमा हुनुहुन्न, त्यसपछि ठूलोबुबा, कान्छोबुबा कसैले पनि बोलाउनु भएको थाहा छैन । माइती भन्ने ठाउँ नै छैन,’ भारी मनका साथ उनले आफ्नो पीडा सुनाइन् । 

तीज भन्नासाथ छोरी चेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ । नयाँ साडी, रातो चुरा–पोते अनि गीत–सङ्गीतसँगै नाचगान गर्ने र माइतीघर गएर रमाउने पर्वका रूपमा तीजलाई हेरिन्छ ।

तर जीवन सबैको एउटै र एकनास हुँदैन । कतै नयाँ भेष भूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरू पनि छन् । गरिबीले पिल्सिएकाहरूलाई तीजले छोएको छैन ।

तीजलाई समाजमा खुसी, भव्यता र एकताको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ । तर सन्जुदेवी र तिलाजस्ता महिलाको कथा सुन्दा तीजको अर्को अनुहार देखिन्छ  । पीडा, एक्लोपना र अपूरो चाहनाको । 

आर्थिक सम्पन्न परिवारका छोरी–चेलीले नयाँ भेष भूषा र मीठा परिकारसहित गीत–सङ्गीतमा रमाइलो गर्छन् । माइती जाने, साथी भेट्ने र हृदय हल्का पार्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्छन् । तर दुःखसँग जीवनको हरपल बिताइरहेका महिला तीज नआएपनि हुने जस्तो अनुभव भने अवश्य गर्छन् ।

सन्जुदेवी र तिलाको जीवनमा साझा कुरा के छ भने समाज र आफन्तबाट पाएको बेवास्ता । यी कथाहरू केवल व्यक्तिगत पीडा मात्र होइनन्, समाजमा अझै पनि चेलीहरूको अवस्था कस्तो छ भन्ने कठोर वास्तविकता हो । जबसम्म छोरी–चेलीलाई बराबरीको सम्मान र अपनत्व दिइँदैन, तबसम्म तीजजस्ता पर्वमा आधा समाज मात्र रमाउनेछ, बाँकी आधा त पीडाभित्रै डुब्नेछ ।

सन्जुदेवी र तिलाजस्ता महिलालाई पनि त्यो अपनत्व महसुस गराउने हो भने, समाजले तीजलाई फरक ढङ्गले व्याख्या गर्नुपर्ने देखिन्छ । तीजमा रमाउने मात्र होइन, रमाउन नसक्ने चेलीको पीडा बुझ्न सक्ने संस्कार बनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update