काठमाडौँ - मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा गोरखामा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा कुल १५ जना भारतीय नागरिक सवार थिए। दुर्घटनामा ७ जनाको ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ।
राजनीति : गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट संकलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । यता, यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । यस्तै, केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्ना १६ सांसदको नाम अन्ततः टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निजी निवासमा बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सूचीबाट संसदमा पठाइने नामहरू अनुमोदन गरेको हो
समाचार : बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरी, ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यता, सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
अपराध : पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । यता, सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन् । यस्तै, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अर्थ : नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । यता, मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ । कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२/८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो । यस्तै, बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए ।
खेलकुद : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताए । गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उनले जानकारी दिए । यता, महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ । लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो भएकी छिन् । यस्तै, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो भएकी छिन् ।
विश्व : प्यालेस्टिनी इस्लामवादी आन्दोलनरथ समुह हमासले शनिबार इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आह्वान गरेको छ । यसैबीच तेहरानको इजरायल र संयुक्त राज्य अमेरिका विरुद्ध आफ्नो रक्षा जारी राख्ने अधिकारको पुष्टि गरिरहेको छ । यस्तै, इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्। यता, भारतले शनिबार लद्दाखका प्रमुख अभियन्ता सोनम वाङचुकको निवारक हिरासतको अन्त्य गरेको छ। लद्दाखको बृहत् स्वायत्तताका लागि भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका ५९ वर्षीय वाङचुकलाई गत सेप्टेम्बरमा भारतको राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको थियो । आन्दोलनका क्रममा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

