Harsamaya
चैत २ : लुकाइएको ६ हजार सिलिन्डर बरादम देखि रविको मुद्दाको सुनुवाइ मंगलबार हुने सम्म
ग्राफिक्सः हर समय/harsamaya

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको संविधान एवं कानुनबमोजिम गरिएको स्पष्ट पारेको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान एवं अन्य प्रचलित कानुनबमोजिम गरेको निर्णयको विषयलाई सार्वजनिक सञ्चारमाध्यममा अन्यथा अर्थ लगाई टिप्पणी गरिएकाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

छ हजार सिलिन्डर लुकाएको भेटियो: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो ।

लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

समानुपातिक सांसद घोषणाः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको जनाएको छ।समानुपातिक प्रणालीमा दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सीट बाँडफाँट गरी सांसद चयन गरिएको आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार तीन प्रतिशत मत कटाएका दलहरूलाई मात्रै समानुपातिकतर्फ प्रतिनिधिसभामा सीट प्रदान गरिएको हो।

नेप्से २६ अंकले घट्यो: साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेको हो।सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेका छन्।कारोबार रकम पनि घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।

स्पेन–अर्जेन्टिना ‘फाइनलिसिमा’ खेल रद्द: मध्यपूर्वमा भइरहेको युद्धका कारण युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल रद्द गरिएको छ । आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेलमा युरोपियन फुटबल महासंघ (युएफा) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले तयारी गरिरहेका थिए । तर क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको युएफाले जनाएको छ ।

पानीको मूल्य बढ्यो: सरकारले बोतल तथा जारमा बिक्री हुने प्रशोधित खानेपानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र १ लिटर बोतलको पानीको मूल्य अधिकतम १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ रुपैयाँ तोकिएको छ। त्यसैगरी उपत्यकाबाहिर १ लिटर बोतलको पानी २० रुपैयाँ र २० लिटर जारको पानी ६० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने विभागले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update