काठमाडौं - सरकारले बोतल तथा जारमा बिक्री हुने प्रशोधित खानेपानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र १ लिटर बोतलको पानीको मूल्य अधिकतम १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ रुपैयाँ तोकिएको छ।
त्यसैगरी उपत्यकाबाहिर १ लिटर बोतलको पानी २० रुपैयाँ र २० लिटर जारको पानी ६० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने विभागले जनाएको छ।
सरकारले तोकिएको मूल्यभन्दा बढीमा पानी बिक्री गरेको पाइएमाउपभोक्ता हित संरक्षण ऐन, २०७५ र सम्बन्धित नियमावलीअनुसार कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
विभागले उपभोक्तालाई सचेत रहन आग्रह गर्दै तोकिएकोभन्दा बढी मूल्य असुलिएको पाइएमा सम्बन्धित कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरेको छ। साथै उपभोक्ताले आफ्ना हक–अधिकारबारे सचेत भई संरक्षणका लागि पहल गर्नुपर्नेमा पनि जोड दिइएको छ।


