Harsamaya
प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन
प्रतिकात्मक तस्वीर ।

सुनसरी - जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । 

पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए । इनरुवाको पाँच वटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उनले बताए । 

इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए । 

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य संघ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिद बिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ ।

 सुनसरी प्रशासनको निर्देशन उल्ल‌ंघन गरेको खण्डमा कानुन अनुसार कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update