काठमाडौं – निर्वाचनमा पार्टीको शर्मनाक हारपछि नेपाली कांग्रेसभित्र सभापति गगन थापाको राजीनामाको माग बढ्दो छ। पार्टी भित्रका असफलता र व्यवस्थागत समस्याको आधारमा तत्काल कदम चाल्नुपर्ने भन्दै कांग्रेसीहरूले उनको राजीनामा मागेका हुन् ।
यस विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कांग्रेस नेता अर्जुननरसिंह केसीले विश्वका प्रतिष्ठित नेताहरू पनि चुनावमा हार भोग्छन् र यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको बताएका छन् । उनले बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिल, अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको निर्वाचन हार उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
‘पार्टी नेतृत्वले थाक्नु, निराश हुनु वा अल्मलिनु कुनै विकल्प हुन सक्दैन। विगतका विकृति, असफलता र वर्तमान परिस्थितिको आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भूल हुनसक्छ,’ उनले भने।
उनले नेतृत्वले हतारमा निर्णय गर्नुको सट्टा, विगतका अपयश र वर्तमान समस्याको विश्लेषण गरी भावी रणनीति तयार गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताए । पार्टीको प्रमुख सारथी, कांग्रेस सभापति, धैर्य, जिम्मेवारी र समर्पणका साथ अगाडि बढ्नु जरूरी रहेको केसीले स्पष्ट पारे ।

