राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ अझै टुंगिएको छैन। रिटमाथिको बहस मंगलबार पनि जारी रहेपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राख्दै थप सुनुवाइ बिहीबारका लागि तोकेको छ। उक्त मुद्दा न्यायाधीश सारांगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब: चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ ।
छानबिन गर्न गृह मन्त्रालयको निर्देशन: गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु-याउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला: सरकारले मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जाने नेपाली श्रमिकको रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने श्रमिकहरूका लागि साउदी अरेबिया, यूएई र कतारलगायत सातवटा देशको पुनः श्रम स्वीकृति (रि-इन्ट्री) खुला गर्ने निर्णय गरेको हो । मन्त्रालयले मंगलबार यो निर्णय गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार अब साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत रहेका र विदामा घर आएर पुनः सोही देशमा फर्किन चाहने श्रमिकले पुनः श्रम स्वीकृति पाउनेछन् ।
रामेछापमा १० वर्ष यताकै ठूला हावाहुरी: सोमबार साँझ चलेको हावाहुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पुर्याएको छ । हावाहुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावाहुरीबाट प्रभावित भएको छ ।
महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता: महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ ।
कहिले पुनःनिर्माण होला: गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ । आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।

