काठमाडौं- सरकारले मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जाने नेपाली श्रमिकको रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने श्रमिकहरूका लागि साउदी अरेबिया, यूएई र कतारलगायत सातवटा देशको पुनः श्रम स्वीकृति (रि-इन्ट्री) खुला गर्ने निर्णय गरेको हो । मन्त्रालयले मंगलबार यो निर्णय गरेको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार अब साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत रहेका र विदामा घर आएर पुनः सोही देशमा फर्किन चाहने श्रमिकले पुनः श्रम स्वीकृति पाउनेछन् ।
तर, सुरक्षा संवेदनशीलतालाई नै मध्यनजर गर्दै इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानको हकमा भने श्रम स्वीकृति अझै खुला गरिएको छैन । यी ६ वटा देशका लागि यसअघिको स्थगनको निर्णय नै यथावत् राखिएको छ ।
यसअघि मध्यपूर्वमा विकसित विषम परिस्थिति र सुरक्षा संवेदनशीलताको कारण देखाउँदै मन्त्रालयले गत फागुन १७ गते साउदी, कतार, यूएई, इजरायल लगायतका सम्पूर्ण मध्यपूर्वी देशहरूमा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिन रोक लगाएको थियो । श्रम स्वीकृति स्थगन भएपछि बिदामा आएर पुनः कार्यक्षेत्रमा फर्किन नपाएका श्रमिकहरू मर्कामा परेका थिए । सम्बन्धित देशका गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली दूतावासहरू र भिसा नवीकरण गर्न नपाएका श्रमिकहरूले विभिन्न माध्यमबाट पुनः श्रम स्वीकृति खुलाउन मन्त्रालयमा निरन्तर माग गर्दै आएका थिए ।
श्रमिकहरूको गुनासो र रोजगारी गुम्ने जोखिम बढेपछि परराष्ट्र मन्त्रालयले पुनः श्रम स्वीकृति सुचारु गर्न सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयको सोही सिफारिस र वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा श्रम मन्त्रालयले तत्कालका लागि इरान, इजरायल लगायतका ६ देश बाहेकका अन्य सात मुलुकमा मात्रै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै बिदामा आएर रोकिएका नेपाली श्रमिकहरूलाई आफ्नो गन्तव्य मुलुक फर्किन बाटो खुलेको छ ।

