गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो । यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । संघका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यता, नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उहाँको नाम सिफारिस भएको हो ।
समाचार : सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यता, गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो । प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ । यस्तै, नहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता, कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो ।
स्वास्थ्य : कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए । यता, सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ । यस्तै, काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको रु १० लाख ६३ हजार ८४० सहित २ जना पक्राउ परेका छन् । काठमाडौँ कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
अर्थ : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो । यता, यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अंकले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । यस्तै, तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ । यता, अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।
अपराध : जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो । यता, देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् । यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
खेलकुद : चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवीन तन्दुरकारलाई हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो । रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । संकटा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्दुरकारले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्त्वपूर्ण भएको बताए । यस्तै, चैतन्य पाठशाला, धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ । चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राखेपका पूर्व मुख्य क्रिकेट प्रशिक्षक समेत रहेका टमटालाई सम्मान गरेको हो ।
विश्व : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी आपूर्ति बोकेको ड्रुज्बा तेल पाइपलाइन पुनः खोल्ने दबाब ‘ब्ल्याकमेल’ जस्तै भएको बताएका छन् ।
युक्रेन पार गर्ने सोभियतकालीन पाइपलाइन जनवरीमा भएको रुसी हमलामा क्षतिग्रस्त भएको किएभले जनाएको छ । युक्रेनले मर्मत गर्न छ हप्तासम्म लाग्न सक्ने बताएको छ । हङ्गेरी र स्लोभाकिया दुवैको धेरै ऊर्जा आवश्यकताका लागि पाइपलाइनमा निर्भर छन् र अवरोधले उनीहरूलाई चिढ्याएको छ । यता, पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याएका छन् । उनले युद्ध अन्त्य गर्न र वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् । यस्तै, ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ । पक्राउ गरिएको संदिग्धमाथि हादीको हत्यामा संलग्न दुई जनालाई भारतमा अवैध रूपमा प्रवेश गराउन सहयोग गरेको आरोप लागेको पश्चिम बङ्गाल प्रहरीले आइतबार जानकारी दिएको छ । यता, पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबीच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो ।

