Harsamaya

नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया हुँदै अहिले एक सय शैया क्षमतामा आफ्नो सेवा विस्तार गरेको छ। ‘मुस्कानसहितको सेवा’ मूल उद्देश्य राखेको अस्पतालले दैनिक करिब ७ सय बिरामीलाई सेवा दिइरहेको अस्पतालको दाबी छ। अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले अस्पतालको सम्पूर्ण गतिविधि हाँकिरहेका छन् । अस्पतालमा आएका बिरामीहरूलाई कसरी गुणस्तरीय सेवा दिने भन्नेमा उनी चिन्तित छन् । ५० शैयाबाट एक सय शैया भएपछि भौतिक संरचनाहरू अपुग छन् तर त्यसको व्यवस्थापन उनले राम्रोसँग गरिरहेका छन् । प्रादेशिक अस्पतालको रुपमा आफ्नो सेवा दिइरहेको यो अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि  के गरिरहेको छ ? अस्पतालले के कस्ता समस्या भोगिरहेको छ ? अस्पताललाई बिरामीमैत्री बनाउन के के सेवा विस्तार गरिरहेको छ ? यसै विषयको सेरोफेरोमा रहेर हर समयले प्रमुख लामासँग गरेको कुराकानी । 

त्रिशुली अस्पतालको वर्तमान अवस्था कस्तो छ ? दैनिक कति बिरामीलाई सेवा दिइरहनु भएको छ ?
त्रिशुली अस्पतालले गुणस्तरीय सेवा दिइरहेको छ। एक सय बेड क्षमता भएको अस्पतालमा २४ जना विशेषज्ञ चिकित्सकहरू छन् भने १४ जना मेडिकल अधिकृतसहितको राम्रो र बलियो टिम छ । दैनिक ७१५ जनालाई अस्पतालले सेवा दिइरहेको छ। एभरेजमा भने प्रतिदिन ५५० बिरामीको जाँच भैरहेको छ । स्वास्थ्यकर्मीहरूको अवस्था संख्यात्मक रुपमा राम्रै छ । तर, विशेषज्ञको कुरा गर्ने हो भने नौ विधामा विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ । रेडियोलोजी विभाग र स्त्री रोगमा भने विशेषज्ञ चिकित्सकको अभाव छ । जहाँ एक-एक जना मात्र कार्यरत हुनुहुन्छ । बिरामीको अत्यधिक चापका कारण कम्तीमा दुई जना विशेषज्ञ  चिकित्सक आवश्यक छ ।  रेडियोग्राफर र नर्सिङ स्टाफहरू पनि पर्याप्त  छैनन् । 

बिरामीहरूबाट बारम्बार आउने गुनासाहरू के–के छन् ? समाधान कसरी गर्नुभएको छ ? 
बिरामीहरूको चाप अत्यधिक भएकाले भिडभाड हुने र समयमै पालो नआउने गुनासाहरू छन् । समयमै रिपोर्ट आएन भन्ने कुरा पनि छ । बिमाको बिरामीहरुलाई पर्याप्त मात्रामा सबै खालको औषधिहरू दिन सकेको छैन । किनकी बिमाबाट आउने पैसा समयमा नआउने र समयमै पार्टीलाई भुक्तानी गर्न नसकेको कारणले पनि होला। औषधी पर्याप्त रुपमा पाउन नसकेको गुनासो छ । यो समस्या समाधान गर्नका लागि पटक-पटक बिमा र प्रदेश सरकारलाई भनिराखेका छौं । गुहारी राखेका छौं । तथापि अस्पताल व्यवस्थापन समितिले औषधिलाई सहज रुपमा दिनको लागि टेन्डर आव्हान भएका पार्टीहरूसँग धेरथोर पैसा भुक्तानी गरेर बिरामीलाई औषधि उपलब्ध गराएर चित्त बुझाउने काम गरेका छौं ।

संघीय तथा प्रदेश सरकारबाट आएको बजेट प्रर्याप्त छ ? अस्पतालको कुन क्षेत्रमा सहयोग आवश्यक छ?
एक सय शैया भएपछि बजेट आवश्यकता अनुसार पुँजीगत रुपमा पर्याप्त छैन । तर, तलब भत्तादेखि कार्यालय संचालन गर्न चालुमा पर्याप्त छ । हामीलाई चाहिने भनेको पुँजीगत हो । भवन, टहरा र  सेवा विस्तार गर्नुपर्ने हुन्छ । मर्मत सम्भार गर्नुपर्ने हुन्छ । आवश्यक उपकरणहरु किन्नको लागि पर्याप्त मात्रामा पुँजी छैन । सँगसँगै अर्को सामाजिक सेवा इकाई छ । गरिब, असहाय बिरामी, जेष्ठ नागरिकहरु धेरै आउनु हुन्छ । उहाँहरुलाई निशुल्क सेवा दिनुपर्छ । त्यस्ता खालका बिरामीहरु सरकारी अस्पताल नै रोजेर आउनु हुन्छ । त्यसैले सामाजिक सेवा इकाईमा बजेट पर्याप्त मात्रमा नभएको भन्ने लाग्छ ।

जिल्लाका दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन अस्पतालले के पहल गरेको छ ?
सरकारी अस्पतालमा दुर्गमबाट धेरै गरिब, असहाय बिरामीहरु आउनु हुन्छ । पैसा भएको बिरामीहरु त पहुँच हुन्छ ठूला हस्पिटलमा काठमाडौं जान सक्छन् । यहाँ आउने भनेको बहुसंख्यक असहाय, गरिब, दुर्गमबाट आउने न्यूनवर्गीय बिरामी हुन् । उहाँहरुको लागि सामाजिक सेवा इकाईबाट सेवा दिइरहेका छौं । छिटो छरितो होस् भनेर बिमाको र औषधि दिने काउन्टरको लाइन छुट्टै राखेका छौं । भिडभाड नहोस् छिटो भन्दा छिटो पालो आओस् भनेर टिकट काउन्टरपनि छुट्याएका छौं । डाक्टरसाबहरुको संख्या पनि बढेको छ। ओपिडिको समय बिहान ८ बजे देखि सुरु गरेका छौं । स्वास्थ्य सम्बन्धी सूचना र चेतना होस् भनेर हप्ताको एक पटक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम गरेका छौं । 

आपतकालीन सेवा (इमर्जेन्सी) को अवस्था कस्तो छ ? उपकरणहरू प्रर्याप्त छन्?
एकदमै । ५० शैया हुदाँ ठिकै थियो । तर, सय शैयामा स्तरोन्नति भएपछि पर्याप्त छैन। पहिला २४ घण्टामा इमर्जेन्सीमा १५/२० जना बिरामी आउँथे। अहिले ५० देखि ७० पुग्छ प्रतिदिन। त्यसैले जनशक्तिको अभाव छ । मेडिकल अफिसर डाक्टरको अभाव छ । इमर्जेन्सीमा हाल ९ बेड मात्र छ। आवश्यक २० बेड हो । त्यो कोठाको पनि अभाव छ। त्यहाँ चाहिने उपकरणहरुको अभाव छ। किन भन्दा ५० बेडबाट १०० बेड हुदाँ पूर्वाधार, उपकरणहरु र जनशक्ति अपग्रेड गर्न सकिरहेको छैन । योजना बनाईरहेका छौं । केही वर्षमा चाँडै नै सोचेको जस्तो तरिकाले विस्तार गर्न सक्छौं ।
 
अस्पतालको भौतिक पूर्वाधार विकासको दृष्टिकोणले हालसम्म भएका काम र भविष्यका योजना के–के छन्?
भौतिक संरचनाको कुरा गर्दा एउटा ठूलो भवन छ । यो भवन ५० बेडको हो । जुन भूकम्प पश्चात कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी र कोरियन सरकारको सहयोगमा  निर्माण गरिएको हो ।  ५० बेडबाट १०० बेडमा जाँदै गर्दा भवनको पनि अभाव छ । ५० बेडको एउटा छुट्टै भवन थप्नुपर्ने अवस्था छ । अहिले सानो-सानो टहराहरूमा जेनतेन चलाइरहेका छौं । प्रदेश सरकारको निर्णयअनुसार नयाँ भवन निर्माणका लागि डिपिआर भएको छ । ५ करोड बजेट विनियोजन पनि भैसकेको छ । यही वर्षमा टेन्डर भएर बहुवर्षीय रुपमा प्रसुति वार्डसहितको अस्पताल भवन बन्दै छ। भौतिक संरचना विस्तारसँगै स्वास्थय सेवाहरु राम्रोसँग विस्तार गर्न सकिने छ । जनताले राम्रो सेवा पाउने विश्वास छ । 

निजी अस्पतालहरूसँग तुलना गर्दा त्रिशूली अस्पतालले गुणस्तरीय सेवा कसरी दिएको छ ?
निजी अस्पतालहरु च्याउ उम्रिए झैँ धेरै वृद्धि भैरहेको छ। नयाँ नयाँ खोलिरहेका छन् । तथापि त्रिशुली अस्पतालले धेरै भन्दा धेरै बिरामीहरुको विश्वास जितेको छ। गुणस्तरीय सेवा समयमै र विशेषज्ञ चिकित्सकबाट निजी अस्पतालमा भन्दा उच्चतम तरिकाले दिइराखेका छौं। पहिला शल्यक्रिया गर्न काठमाडौं जानु पर्थ्यो । विभिन्न बिरामीहरु आइसीयुमा राख्नु परे पनि काठमाडौं जानुपर्थ्यो। अहिले ती खालका बिरामीहरुलाई रिफर नगरीकन यहीँ अस्पतालमा विशेषज्ञ डाक्टरसाबहरुले गुणस्तरीय सेवा दिइरहनु भएको छ । सरकारी अस्पतालमै गुणस्तरीय सेवा पाउने भएकाले प्राइभेट अस्पताल रोज्ने कुरै भएन ।

Trishuli-Hospital-1755046562.jpg
त्रिशुली अस्पताल।

गत आ.व. को साउनमा सेवा सुरु गरेको सिटि स्क्यानले कतिको राहत दिएको छ ?
यसमा कुनै शंका छैन। प्रदेश सरकारको सहयोगले यहाँका जनताले सिटि स्क्यान सेवा पाइरहेका छन् । यो एकदमै महत्वपूर्ण र चाहिने सेवा थियो । दुर्घटनामा परेका, टाउको दुख्ने समस्या भएका र विभिन्न चोट लागेको बिरमीहरु सिटि स्क्यान गर्न काठमाडौं धाउन पर्थ्यो । तर अहिले दैनिक १० देखि १५ जनाको सिटि स्क्यान त्रिशुलीमा नै हुन्छ । जसले गर्दा बिरामीको रिफर गर्नुपर्ने संख्या घटेको छ। बिरामीको विश्वास बढेको छ। यस्ता सेवाहरू आफ्नै ठाउँमा पाउँदा एकदमै खुसी भएका छन्। यसको सम्भावना धेरै राम्रो छ । 
 
अहिलेको समयमा अस्पतालले के कस्ता रोगहरुको उपचार गर्दै छ ? कस्ता रोगका बिरामीको दर बढी छ ?
अस्पतालबाट धेरै विशेषज्ञ सेवाहरु दिइरहेका छौं । मेडिसिन, बालरोग, जनरल सर्जरी, स्त्रीरोग सम्बन्धी, मानसिक रोग सम्बन्धी, हाडजोर्नी, आँखा रोग, रेडियोलोजी सेवा, दन्तरोग सेवा लगायत धेरै विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । मेडिसिनमा धेरै नै आइसीयुमा राख्ने भित्रि रोगमा बिरामीहरू हुन्छन् । जस्तै, सुगर कन्ट्रोल नहुने, प्रेसर, थाइराड, दमको बिरामी, अन्य संक्रमण, ज्वरो आउने बिरामी र सिजन अनुसारको डेंगी रोगहरु आदि पर्दछन् । बालरोगमा निमोनियाको बच्चाहरु हुन्छन्। सर्जरीमा पित्तथैलीको अप्रेसन गर्ने देखि लिएर, एपेन्डिक्सको आन्द्रा फुटेको, हर्निया-हैद्रोसिल, पायल्स फिस्टुला, घाउ चोटपटक लागेको यो सबै उपचार दिइरहेका छौं । स्त्रीरोगमा सिजरियनदेखि नर्मल डेलिभरी, जटिल डेलिभरि, गाइनो समस्या, पाठेघर सम्बन्धी समस्याहरु सबै जाँच भैरहेको छ। मानसिक रोगका लागि एकदमै राम्रो छ त्रिशुली अस्पताल । हार्डजोर्नीको ठूलो अप्रेशनहरु गर्न काठमाडौँ जानु पर्थ्यो। हड्डी प्रतिस्थापनदेखि जोर्नी प्रतिस्थापन, हाडजोर्नीमा स्टिल राख्ने, चोटपटक लागेको समस्याको उपचार भैरहेको छ। आँखाको सर्जरीसमेत शिविर चलाएर गराउँदै आएका छौं । रेडियोलोजी विभागबाट अत्याधुनिक अल्ट्रा साउन्ड मेसिनबाट सेवा दिइरहेका छौं। इको सेवा दिइरहेका छौं । अस्पताललाई डिजिटललाइज गर्न डिजिटल बोर्ड राखेर विभिन्न किसिमको सूचनाहरु दिइरहेका छौ। त्यस्तैगरी इन्डोस्कोपी, सिस्टोस्कोपी, पिसाब थैलीको जाँच गर्ने, मेमोग्राम सेवाहरु दिइरहेका छौं। 

त्रिशुली अस्पताललाई एउटा आरोप लाग्ने गर्छ, अस्पतलले उपचार भन्दा बढी रिफर गर्छ । यो आरोपलाई कसरी लिनु हुन्छ ?
त्यसलाई सहज रुपमा लिनुपर्छ। कतिपय अवस्थामा बिरामीहरुले नबुझेको हुनसक्छ। कतिले बुझेर त्यस्तो भनेको हुन सक्छ। अन्यथा नलिकन उहाँहरुलाई सम्झाउने बुझाउने गर्नुपर्छ। कति बिरामीहरु आउनुहुन्छ विश्वास नमानेर आफ्नै इच्छाले जानुहुन्छ। पहिला विशेषज्ञ डाक्टर नहुँदा, मेडिकल अफिसरमात्र हुँदा, पारा मेडिसिन मात्र हुदाँ बिरामीहरु आउने यो खालको सेवा हुँदैन भन्ने धारणा थियो । तर, अहिले विशेषज्ञ डाक्टरसाबहरुबाट आइसीयु एनआइसीयु देखि अप्रेसनहरु हुन्छ। पहिला दैनिक १५०/२०० बिरामी हुन्थे प्रतिदिन अहिले सात सयसम्म पुग्छ भनेपछि रिफर रेट कम भएन र ? विशिष्ट सेवा लिनका लागि हुनैपर्ने रिफर हुनु पर्यो। रिफर पनि गर्नु पर्छ समयमा।  छाला रोग, नाक, कान, घाँटीको रोग बाहेक अन्य सेवाहरूमा हतपत विशेषज्ञ सेवाहरुका लागि रिफर हुँदैन। अन्यथा सबै रोगको सेवाहरु यहाँ उपलब्ध छ । उपचार भन्दा रिफर हुन्छ भन्नु अली मिथक जस्तो लाग्छ मलाई ।

अहिले त्रिशुली अस्पतालले के-कस्ता शल्यक्रिया गर्दै आएको छ ? आगामी दिनमा के कस्ता शल्यक्रिया सेवा बढाउने तयारी छ ?
अब अप्रेशनको कुरा गर्ने हो भने सर्वप्रथम जनरल सर्जरीको कुरा गरौं। म आफैं शल्य चिकित्सक हो। अहिले ल्याप्रोसकोपीको आधुनिक रुपमा दुरबिनले अप्रेशन गरिन्छ। नवीनतम प्रविधिमा पित्त थैली, पत्थरी, एपेन्डिक्सको अप्रेशन गर्छौं । चिरेर पनि अप्रेशन गरिन्छ। सिस्टोस्कोपी (पिसाब थैली) को जाँचहरु भैरहेको छ। हाइड्रोसिल, हर्निया, पायल्स-फिस्टुला, नसाको अप्रेशन भैरहेका हुन्छ । अब यसमा नवीनतम प्रविधि भित्र्याएर गर्न खोजेका छौं । रगतको नलीहरुको, नसाहरुको, पायल्सहरुको, फिस्टुलाहरुको पाइलोनाइडल साइनसको पनि लेजरबाट सर्जरी गर्ने प्रविधि आइसक्यो । यो  चाँडै नै भित्र्याउने योजनामा छौं । स्त्रीरोगमा पनि अप्रेशन गर्दा ल्याप्रोसकोपी सर्जरी चाँडै नै संचालमा ल्याउने तयारी छ ।हिस्ट्रोस्कोपी (पाठेघरको दुरबिनले हेरेर जाँच गर्ने) योजनामा पनि छौं । हाडजोर्नीमा स्पाइनल सर्जरी सुरु गरिसकेका छौं ।त्यस्तै गरी टिमलाई मजबुत गरेर हाडजोर्नीको जोर्नीहरु प्रतिस्थापन देखि स्पाइनल सर्जरीसम्म सुरु गर्ने योजना छ। हाडजोर्नीको एकदमै राम्रो सेवा छ। आँखाको पनि नियमित रुपमा मोतियाबिन्दु शल्यक्रिया संचालन गर्न प्रदेश सरकार, तिलगंगा आँखा अस्पतालसँग समन्वय गरिराखेका छौं । 

त्रिशुली अस्पतालले निशुल्क शिविरहरु पनि गरेको छ ? 
निशुल्क शिविरहरु अन्य अस्पतालले गरे जस्तै वार्षिक योजनामा पर्छ। गत साल तीन ठाउँमा निशुल्क शिविर राखेका थियौं तर्केश्वोर, शिवपुरी र मेघान्ग्मा। यसपालि कार्यतालिका व्यस्त भएकोले एउटा शिविर राखेका थियौं । ठूलो शिविर किस्पांग गाउँपालिकामा संचालन गरेका थियौं । निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेका थियौं। त्यस्तै बिरामीहरुको स्वास्थ्यको लागि निशुल्क रुपमा जेष्ठ नागरिकलाई सामाजिक सेवा इकाईबाट गरिब असहाय, अपांग बिरामीहरुलाई निशुल्क रुपमा सेवा दिइराखेको छौं । 

Rajendra-Lama-1-1755046562.jpg
अस्पतालका निर्देशक डा. राजेन्द्र लामा

अन्तमा, नुवाकोटबासी जनताका लागि तपाईंको सन्देश के छ ?
नुवाकोटवासीलाई त्रिशुली अस्पताल र मेरो तर्फबाट सर्वप्रथम बिरामी नहुन, रोगबाट बच्न सुझाव दिन्छु । आफ्नो जीवनशैली एकदमै स्वस्थ राख्नु पर्यो, नियमित व्यायाम गर्नु पर्यो , सन्तुलित भोजन, आहार खानुपर्यो । धेरै गुलियो खानेकुराहरु, चिल्लो खानेकुराहरु, धेरै अमिलो पिरो, ड्राई-फ्राई खानेकुराहरु, मादकपदार्थ, लागूपदार्थहरुबाट टाढा रहनु पर्यो। अब  ‘प्रिभेन्सन इज बेटर देन क्युर’ भनिन्छ नि । रोग लाग्न भन्दा रोग लाग्न नदिनु राम्रो । रोग लागिसकेपछि समयमै स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसाबहरुको साथमा भिजिट गर्नु होला। त्रिशुली अस्पतालबाट नजिक रहनुभएका रसुवा, धादिङका बिरामीहरूलाई समस्या पर्यो भने जुनसुकै बेला सम्पर्क गरेर अस्पतालबाट सेवा लिन अनुरोध गर्दछु । यहाँ नहुने केसलाई मात्र बल्ल रिफर भएर काठमाडौं जान आग्रह गर्छु । 

रोगले निकै ग्रस्त भएपछि अन्तिममा अस्पताल आउने बिरामीलाई के भन्नु हुन्छ ?
मान्छेहरुको सोच हो। रोग सामान्यतया सहन सकिन्छ भन्ने हुन्छ । रोग छिप्पिसकेपछि एकदमै गार्हो हुन्छ। बेलैमा उपचार गर्यो भने खर्चको हिसाबले पनि सस्तो,  रोग उपचारको  ‘सक्सेस रेट’ धेरै हुन्छ। आउटकम राम्रो हुन्छ। भविष्यमा बल्झिने समस्या कम हुन्छ। त्यसैले सबै जनाले सोच परिवर्तन गर्नु पर्यो । स्वास्थ्य सम्बन्धी केही न केही समस्या देख्ना साथ बेलैमा परामर्श लिने र बेलैमा उपचार गर्नु भयो भने सामाजिक रुपमा, आर्थिक रुपमा र हरेक रुपबाट बिरामीलाई धेरै भन्दा धेरै फाइदा हुन्छ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update