काठमाडौं - निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु भूपतिबज्र लामालाई साविककै पदमा यथावत् राख्न निर्देशन दिएको छ। आयोगको निर्णयअनुसार सोको जानकारी माघ २७ गते कार्यालय समयभित्र गराउन पत्राचार गरिएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार आइतबारको निर्णयपछि गुठी संस्थानलाई पत्र पठाइएको हो। गुठी संस्थानले माघ ९ गते प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध लामाले माघ १३ गते निर्वाचन आचारसंहिताविपरीत पदबाट हटाइएको भन्दै आयोगमा उजुरी दिएका थिए। आयोगले संस्थानसँग स्पष्टीकरण माग गरे पनि चित्तबुझ्दो जवाफ नआएपछि उनलाई साविककै पदमा बहाल गराउन निर्णय गरेको हो।
आयोगको पत्रमा गुठी संस्थानको निर्णय तथ्यपरक, न्यायसंगत तथा निर्वाचनको स्वच्छता र निष्पक्षताको सिद्धान्तअनुकूल नदेखिएको उल्लेख छ। संस्थानका सूचना अधिकारी जनक पोखरेलले पनि आयोगको पत्र प्राप्त भएको पुष्टि गर्दै प्रमुख लामालाई पदमा यथावत् राख्न भनिएको जानकारी दिए।

