Harsamaya
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, पहिचान खुल्न सकेन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार कार्तिक २१ गते राति करिब ११ बजेर ५० मिनेटमा कोशी लोकमार्गमा दुर्घटना भएको हो।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना पुरुष गम्भीर घाइते भएका थिए। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update