Harsamaya
आज कुकुर तिहार, यमदूतको सम्मानसँगै प्राणीप्रति सद्भाव र संरक्षणको सन्देश
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा कुकुरलाई सम्मान गर्दै आज घरपालुवा तथा सडकमा रहेका कुकुरको पूजा गरी मीठा परिकार खुवाएर पर्व मनाइँदैछ।

हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिइन्छ। यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुर रहने तथा उनीहरूले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा यमपञ्चकमा कुकुरको पूजा गर्ने परम्परा रहिआएको छ।

आज बिहानैदेखि कुकुरलाई नुहाइदिने, निधारमा टीका लगाउने, फूलमाला पहिर्‍याउने र मिठा परिकार खुवाउने गरिन्छ। कुकुरलाई सम्मान गर्दा यमराज प्रसन्न हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।

यमदूतको सम्मानसँग जोडिएको कुकुर पूजा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार कुकुर तिहारको धार्मिक सम्बन्ध यमराजका दूतहरूको सम्मानसँग जोडिएको छ। यमपञ्चकमा काग र कुकुरलाई यमदूतका रूपमा सम्मान गर्ने परम्परा रहेको उनले बताए।

भट्टराईले कुकुर तिहार र भाइटीकाबीचको धार्मिक सम्बन्ध स्पष्ट पार्दै यमराजको सम्मान गर्ने क्रममा उनका दूतहरूको पूजा गर्ने परम्परा रहेको उल्लेख गरे।

उनका अनुसार यमपञ्चकको अन्तिम दिन यमराज र यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तथा दाजुभाइले दिदीबहिनीलाई सम्मान गर्ने परम्परा छ। त्यसअघि यमराजका दूतका रूपमा मानिएका काग र कुकुरको पूजा गरिनुलाई धर्मराजप्रतिको सम्मानकै एउटा पक्षका रूपमा बुझ्न सकिन्छ।

‘अहिले सामाजिक रूपमा बुझ्दा कुनै विशिष्ट व्यक्तिलाई बोलाउँदा उहाँसँग आएका व्यक्तिहरूलाई पनि सम्मान गर्ने चलन हुन्छ। त्यसैगरी धर्मराजका दूत भएकाले काग र कुकुरको पूजा गरिएको हो,’ भट्टराईको भनाइ छ।

मन्त्रभन्दा सद्भाव महत्वपूर्ण
कुकुरको पूजा गर्दा विशेष विधि र मन्त्र अनिवार्य हुन्छ भन्नेभन्दा पनि श्रद्धा र सद्भाव महत्वपूर्ण हुने भट्टराईको भनाइ छ। वैदिक पूजामा षोडशोपचार, दशोपचार, पञ्चोपचार तथा यथालब्धोपचारजस्ता विधि प्रचलनमा रहे पनि कुकुरको पूजा गर्दा उपलब्ध सामग्रीअनुसार सम्मान गर्न सकिने उनले बताए।

जानकार व्यक्तिले मन्त्र प्रयोग गरेर पूजा गर्न सक्ने भए पनि सामान्य रूपमा सद्भाव राखेर पूजा गर्दा पनि उत्तिकै राम्रो हुने उनको धारणा छ।

‘प्राणीप्रति सद्भाव हुनुपर्छ भन्ने हाम्रो आशय हो। जुन प्राणी जुन स्थानमा छ, त्यही स्थानमा राखेर सम्मान गर्ने र त्यसको उचित संरक्षण गर्ने भन्ने कुरा हो,’ भट्टराईले भने।

एक दिनको पूजा होइन, सधैँ संरक्षणको सन्देश
कुकुर तिहारलाई केवल एक दिन कुकुरको पूजा गर्ने पर्वका रूपमा मात्र सीमित गर्न नहुने भट्टराईले बताए। उनका अनुसार यो पर्वले सबै प्राणीप्रति सद्भाव, माया र संरक्षणको भावना विकास गर्नुपर्ने सन्देश दिन्छ।

गृहस्थ जीवनमा गरिने पञ्चमहायज्ञको धार्मिक अवधारणामा पनि प्राणीप्रतिको दायित्व समेटिएको उल्लेख गर्दै उनले कुकुर तिहारलाई त्यसको प्रतीकात्मक अभ्यासका रूपमा बुझ्न सकिने बताए।

‘त्यो एक दिन मात्रै होइन, सधैँभरि नै प्राणीप्रति सद्भाव हुनुपर्छ भन्ने हाम्रो आशय हो,’ भट्टराईले भने।

कुकुर मानिसको विश्वासिलो साथी मात्र नभई घरको सुरक्षा, अपराध अनुसन्धान, खोज तथा उद्धारलगायतका कार्यमा समेत महत्वपूर्ण सहयोगी मानिन्छ। यस्तो अवस्थामा कुकुर तिहारले धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै पशुप्रति मानवीय व्यवहार गर्नुपर्ने सन्देशसमेत प्रवाह गर्छ।

तिहारका विभिन्न पर्वमध्ये कुकुर तिहारले मानिस र अन्य प्राणीबीचको सम्बन्धलाई आत्मीय बनाउने तथा जीवजन्तुको सम्मान र संरक्षण गर्नुपर्ने भावनालाई उजागर गर्दै आएको छ। धार्मिक परम्पराअनुसार आज गरिने कुकुर पूजाको सार पनि प्राणीप्रति सद्भाव राख्नु र उनीहरूको उचित संरक्षण गर्नु नै रहेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update