त्रिशुली अस्पतालले हिजोको दिनमा भन्दा आज विश्वासको वातावरण बनाएको छ । अहिले ओपिडिमा दैनिक ७३० जना बिरामी आउँछन् । बिरामी बढेसँगै चुनौतीहरू पनि थपिएका छन् । अस्पतालबाट कसरी सहज र सरल सेवा दिने भन्ने चुनौती सधैं रहन्छ । बिरामीहरूलाई सहज सेवा दिन विभिन्न प्रक्रियाहरू अपनाएका छौं । अस्पतालमा अनलाइन टिकेटिङ सिस्टम अगाडि बढाएका छौं । टिकट काउन्टरहरू बढाएका छौं । फार्मेसीलाई दुईटा बनाएका छौं । ल्यावमा स्क्यान गरेर तुरुन्तै रिपोर्टहरू लिन सक्छौं । अस्पतालमा आएका बिरामीलाई बस्ने व्यवस्था गरेका छौं । अस्पताल कर्मचारीहरूको तलब समयमा नआउँदा केही कठिनाइ भोग्नु परिरहेको छ । तर, सेवाग्राहीलाई सेवा दिने विषयमा कुनै कम्प्रोमाइज गरेका छैनौं ।
दुर्गम क्षेत्रमा के कस्ता बिरामीहरू छन् भन्ने थाहा पाउन शिविर सञ्चालन गरेका छौं । यो अस्पतालमा नुवाकोटका साथै रसुवाको तल्लो भेग र धादिङको माथिल्लो भेगका बिरामीहरू उपचारका लागि आउने गर्दछन् । विपन्न वर्गका बिरामीहरूले सामाजिक सेवा ईकाइबाट उपचार पाइरहेका छन् । टाढा-टाढाबाट त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगराइ पठाएको केसहरू म अध्यक्ष भएर आएसँगै अन्त्य भएको छ ।
बागमती प्रदेशमा यसै जिल्ला अझ यहीँ क्षेत्रका मुख्यमन्त्री हुनुले पनि त्रिशुली अस्पतालमा सेवा सुविधा धेरै अगाडि बढेको छ । डाक्टर ल्याउने, मेसिनहरू खरिद गर्ने, ल्याउने, अप्रेसन गर्दा ओटिमा चाहिने मेसिन मुख्यमन्त्रीका कारण आइपुगेको छ । मेमोग्राम (ब्रेस्ट क्यान्सर पत्ता लगाउने) मेसिन मुख्यमन्त्री र स्वास्थ्य मन्त्री किरण थापाका कारण आएको हो । युएसजी (एक्सरे मेसिन) पनि स्वास्थ्य मन्त्री र मुख्यमन्त्रीको पहलमा आएको हो । जसका कारण गर्भवती महिलाहरूलाई सजिलो भएको छ । यो अस्पताल ५० बेडबाट १०० बेड पुर्याएसँगै भौतिक संरचनाहरू अपुग भएका छन् । बिरामीको चाप पनि उस्तै छ । नयाँ बिल्डिङ आवश्यकता परेकाले मुख्यमन्त्री बहादुर सिंह लामालाई आग्रह गर्यौं । उहाँले नुवाकोटको अन्यत्रको बजेट काटेर पनि अस्पताललाई सहयोग गर्छु भन्नुभयो । तत्काल ५ करोड बजेट विनियोजन पनि गर्दिनुभयो । वहुवर्षीयमा ३७ करोडको लक्ष्य राखेर नयाँ बिल्डिङ बनाउँदैछौं । यहीँ वर्ष टेण्डर प्रक्रिया सुरु हुन्छ । यसले रसुवा नुवाकोट र धादिङका सम्पूर्ण बिरामीहरूलाई सहज र सरल स्वास्थ्य सुविधा दिन सफल हुनेछ ।
त्रिशुली अस्पतालमा नर्सिङको पढाइ पनि सुरु गर्ने तयारी छ । नर्सिङबाट यो अस्पताल आफैं सस्टेन होस् भन्ने सोच हो। नगरप्रमुख राजन श्रेष्ठ र मुख्य मन्त्रीको पहलमा फाइलहरू अगाडि बढेको छ । नर्सिङ बढाउन सुरु गर्ने हो भने यहाँ भएका डाक्टरहरूको वृत्ति विकास हुन्छ । उहाँहरूले पनि नयाँ सेवा दिन सक्ने र उहाँहरूको आम्दानी बढ्नेछ । यो काठमाडौंबाट टाढा रहेको अस्पताल हो । यहाँका विद्यार्थीहरू नर्सिङ पढ्न अन्त जानु पर्दैन । यसले नुवाकोटको आर्थिक विकासमा पनि टेवा पुग्नेछ ।
सुरक्षाका दृष्टिले अस्पताल संवेदनशील छ । प्रहरीले २४सैं घण्टा सेवा दिएर सहजीकरण र सुरक्षा प्रदान गरेको छ । विभिन्न रोगले बिरामीको मृत्यु हुँदा लफडा पर्ने गर्दछ । कतिपय कुराहरू नबुझ्दा प्रेसरहरू पनि आउने गर्छ । उहाँहरूलाई सम्झाइ बुझाइ गरेपछि मान्नु हुन्छ । डिएनए परीक्षणका लागि पनि प्रहरी आफैं सक्रिय छ । डिएनए परीक्षणका लागि काठमाडौंको टिचिङ हस्पिटल पुर्याउन प्रहरीले नै सहजीकरण गरेको छ । अस्पतालमा मृत्यु भएकाहरूको पोष्टमार्टम बिहानदेखि बेलुका सम्मै हुन्छ ।
त्रिशुली अस्पताल दिनानुदिन परिवर्तन भइरहेको छ । नयाँ प्रविधि, छिटो छरितो सेवाले गर्दा यसले आफ्नो परिचय नै फेरेको छ ।
(त्रिशुली अस्पताल सञ्चालक समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीसँग हरसमयले गरेको कुरकानीमा आधारित )