विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई जनतासँग जोड्ने मुख्य जिम्मेवारी स्थानीय तहका नेताहरूको भएको बताएका छन्।
मोरङ–६ बाट कांग्रेसका उम्मेदवार कोइरालाले शुक्रबार विराटनगर महानगरपालिका वडा नम्बर–६ का मतदातासँग भएको अन्तर्क्रियामा पार्टी संगठन बलियो बनाउन वडा–वडामै नेतृत्व सक्रिय हुनुपर्नेमा जोड दिए।
मतदाताहरूले कांग्रेसका शीर्ष नेताहरू वडा तहमा नआएको गुनासो गरेपछि कोइरालाले हरेक नेता हरेक घरमा पुग्न नसक्ने यथार्थ उल्लेख गर्दै यस्तो अवस्थामा स्थानीय नेताहरूले नै पार्टीको प्रतिनिधित्व गर्न सक्नुपर्ने बताए। उनले पार्टीको आत्मा प्रत्येक कार्यकर्ता र नेतामा प्रतिबिम्बित हुनुपर्ने धारणा राखे।
‘तपाईंहरू शेखर किन आएन भनेर प्रश्न गर्नुहुन्छ,’ कोइरालाले भने, ‘तर म त तपाईंहरू सबैभित्र शेखर देखिरहेको छु।’ उनको भनाइले पार्टी नेतृत्वभन्दा संगठन र कार्यकर्ताको भूमिकालाई प्राथमिकता दिएको संकेत गरेको थियो।
विकासका सन्दर्भमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा कतिपय स्थानमा सडक पिच हुन बाँकी रहे पनि विकास नपुगेको क्षेत्र भने नरहेको दाबी गरे। उनले विकासलाई केवल सांसदसँग मात्र जोडेर हेर्न नहुने भन्दै स्थानीय, प्रदेश र संघीय तहमा कांग्रेसका जनप्रतिनिधि भएमा विकासको वास्तविक अनुभूति हुने बताए।

