
थाहा छ,
दुनियाँका लागि म खुशी छु
ठूला अफिसमा काम,
बिहान बेलुका होटलमा माम
लगाउँदा सुकिला जोडा,
बोक्दा महंगा फोन
कतै कतै मलाई आरोप पनि त छ ,
गर्दै छ रे गरिबीको ढोग ।
तर,
मलाई चिन्न, पहिला आफैंलाई बुझ्नुपर्छ
सुख के हो भन्न,
दुख सहनु पर्छ
कहिले दिनरात भोकै त,
कहिले एक्लै हिँड्नुपर्छ
मर्न लाग्दा पनि,
हिम्मत बाँकी छ है भन्नुपर्छ ।
कहिलेकाहीँ,
बुझ्नु मेरो मुस्कानमा लुकेका कथा
निहाल्नु सुक्खा मरुभूमिजस्ता नयनका व्यथा
अथाह सपनाको हत्या गरी,
निलेको छु हजारौं दुखका जहर
जीवनको अन्तिममा छु,
न जीवनका रंग छ न हुँदैछ मरण ।
म,
कसैलाई जित्न होइन
आफैं बाँच्न खोज्दै छु
कयौं बोझहरू बोक्दै,
आफ्नै अस्तित्वको चिनारी खोज्दैछु
बाहिर हाँस्दै, देखावटी नाच्दै,
भित्रभित्रै मौनता ओढ्दैछु।
कहिलेकाहीँ लाग्छ,
मेरो छायाँले पनि साथ छोड्छ होला,
तर,
अन्धकारको जुन झैँ,
अझै म, आशा बालिरहेछु
जीवनमा जित्न होइन,
फेरि बाँच्न,
मनको पीडा मनमै च्यापेर हाँसिरहेछु ।