कविता : खोज !

मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज
त्यसको अर्थ र व्याख्यामा खोज
वाक्यको सुरु र अन्तमा खोज
कमा अनि फुलस्टपमा खोज।
नेपाली भाषा र साहित्यमा खोज
अंक गणित र बीज गणितमा खोज
विज्ञानका ज्ञानहरूमा खोज
समाजका संस्कृतिहरूमा खोज ।
व्यवस्थापनका फर्मुलाहरूमा खोज
कलाका रंगहरूमा खोज
इतिहासका कथाहरूमा खोज
वर्तमानका यथार्थहरूमा खोज।
सामाजिक सञ्जालका भित्ताहरूमा खोज
लाइक र कमेन्टहरूमा खोज
फेसबुकका स्टाटसहरूमा खोज
इन्स्टाका रिल्सहरूमा खोज ।
खोज्दा खोज्दै थाक्यौं भने तिमी
आँखा चिम्म गरेर आफ्नै मुटुमा खोज,
आफ्नै मुटुमा खोज ।।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्