Harsamaya
कविता : मिलन
ग्राफिक्स : हर समय/Har Samaya

वर्षौं देखिको लामो प्रतिक्षापछि
कोही आउँदै थियो
आउने दिन रात कहिल्यै बितेन
बिहान कहिल्यै कटेन
सेकेन्ड सेकेन्ड पनि घण्टा झैँ लाग्दै थियो ।

वर्षौं एक्लै बिताउँदा नभएको बेचैनी
एक रात र एक दिनले बढाउँदै थियो 
लाग्थ्यो घडीका सुईहरू तीव्र बनाई दिउँ
उनी आउने समय सम्मै पुर्याई दिउँ
तर,घडी त मानव निर्मित थियो 
प्रकृति आफ्नै तालमा निस्फिक्री थियो 
कोही आओस् वा जाओस्
उसलाई केही परवाह थिएन
उ त हिजो, आज अनि भोलि
एउटै सिमा रेखामा दौडदैं थियो।

तीव्र बेचैनी र पर्खाइसँगै उनी आए
बिहानीको कलिलो घाममा शीतका थोपा टल्किए झैँ 
टल्किएका थिए मनहरू
लेकमा लालीगुराँसको फुलमा डाँफै नाचे झैँ
मग्न नाचिरहेका थिए खुशीहरू
रंगीचंगी फूलबारीमा भमरा भुनभुनाए झैँ
मिलनका खुसीहरू भुनभुनाइरहेका थिए ।

फेरि यस्तो लाग्यो,
टक्क अडिउँन समयहरू
घडीका सुईहरूले थकाइ मारून्
अनि प्रकृति पनि निस्फिक्री भएर 
एकै समय रेखामा अडि रहोस् 
अनि हाम्रो मिलन
जीवनभर यस्तै रहि रहोस्
यस्तै रहि रहोस् ।

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update