
पत्रकार तथा साहित्यकार नेत्र तामाङले त्रिविबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । तामाङ पत्रकार संघको सातौं महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका उनले वि.सं. २०६३ मा राष्ट्रिय समाचार समितिबाट पत्रकारिता यात्रा थालेका हुन् ।
बाल साहित्य लेखनमा सक्रिय तामाङको सिर्जनामा हालसम्म २० वटा बाल चित्रकथा पुस्तक प्रकाशन भइसकेको छ। कक्षा ५ को नेपाली पाठ्यक्रममा उनले सिर्जना गरेको बाल कथा जम्बियाङको जन्मदिन समावेश गरिएको छ । यस्तै कक्षा ४ मा निजी विद्यालयमा पनि यसै वर्षदेखि परेको छ ।
खोज पत्रकारिताका लागि यूएईको दुबईसम्म पुगेका उनी तामाङ इतिहास संरक्षण र प्रवर्धनमा विशेष रुचि राख्छन्। अमेरिकाको हवाईस्थित इस्टवेस्ट सेन्टरको एपीएलपी फेलोसमेत रहेका तामाङ अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्। इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोकमा जन्मिएका उनै साहित्यकार तथा पत्रकार नेत्र तामाङलाई हर समयले राखेको तीन प्रश्न ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
लेखन जहिल्यै असन्तुष्ट पेशा हो । केही न केही कमी हुन्छ । कहिले अनुसन्धान पुग्दैन त कहिले समय । जब प्रकाशन भएर आउँछ । तरकारी पस्कँदा कहिले बेसार बढी भएझैं त कहिले नुन नपुगेझैं खल्लो हुनु स्वाभाविक हो । फेरि सन्तुष्ट भए अर्को रचना तयार पार्ने जाँगर पनि चल्दैन नि !अहिले तामाङ पत्रकार संघको अध्यक्षमा तीन वर्षका लागि चुनिएको छु । तामाङ समुदायका विषयमा मैले लेख्न सकिरहेको छैन । यसैले म आफ्नो समुदायका लागि पनि लेख्ने प्रयासमा छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
राष्ट्र यदि सरकार हो भने साहित्य र स्रष्टाप्रति यसको जिम्मेवारी प्रशस्तै हुन्छ । तर सरकारले यो फल्न फुल्न एकेडेमी, कोर्स बुक, विभिन्न प्रतियोगितादेखि प्रकाशनसम्मका प्लेटफर्म तयार गरिदिएका छन् । नेपालमा रहेका हरेक भाषाको साहित्यलाई सरकारले यस्तो प्लेटफर्म तयार पारिदिनुपर्छ । अर्को कुरा लेखकलाई साधारण जीवनबाट केही माथि उकास्ने हो भने राज्यले पनि मार्केटिङ गरिदिनु आवश्यक पर्छ । कुनै भाषालाई जोगाउन एउटा कविता प्रतियोगिता आयोजना गरेरमात्रपुग्दैन ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
पहिले साहित्य मानिसमा सीमित थिए । मानिसले मानिसको व्यवहार हेरेर सिक्थे । पछिल्ला किताबमा धर्म, युद्ध र प्रेमका कुरा आउन थाले । साहित्य लिपिबद्ध हुन थाल्यो । दृश्य चलचित्र हुँदै अहिलेको संसारमा डिजिटल प्रविधि छिरिसक्यो । अब त पढ्दै हेर्दै सिक्ने बढेका छन्। कुनै लेखकले लेखेको विषय उनले व्यवहारमा लागू गर्छन् कि गर्दैनन् हेर्छन् ।