
पत्रकार नेत्र तामाङले त्रिविबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । तामाङ पत्रकार संघको सातौं महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका उनले वि.सं. २०६३ मा राष्ट्रिय समाचार समितिबाट पत्रकारिता यात्रा थालेका हुन् ।
बाल साहित्य लेखनमा सक्रिय तामाङको सिर्जनामा हालसम्म २० वटा बाल चित्रकथा पुस्तक प्रकाशन भइसकेको छ। कक्षा ५ को नेपाली पाठ्यक्रममा उनले सिर्जना गरेको बाल कथा जम्बियाङको जन्मदिन समावेश गरिएको छ । यस्तै कक्षा ४ मा निजी विद्यालयमा पनि यसै वर्षदेखि परेको छ ।
खोज पत्रकारिताका लागि यूएईको दुबईसम्म पुगेका उनी तामाङ इतिहास संरक्षण र प्रवर्धनमा विशेष रुचि राख्छन्। अमेरिकाको हवाईस्थित इस्टवेस्ट सेन्टरको एपीएलपी फेलोसमेत रहेका तामाङ अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्।
इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोकमा जन्मिएका उनी साहित्य लेखनमा हिजो र आजको तुलनाबारे भन्छन्– ‘मानिसले मानिसको व्यवहार हेरेर सिक्थे । पछिल्ला किताबमा धर्म,युद्ध र प्रेमका कुरा आउन थाले । साहित्य लिपिबद्ध हुन थाल्यो । दृश्य चलचित्र हुँदै अहिलेको संसारमा डिजिटल प्रविधि छिरिसक्यो । अब त पढ्दै हेर्दै सिक्ने बढेका छन् । कुनै लेखकले लेखेको विषय उनले व्यवहारमा लागू गर्छन् कि गर्दैनन् हेर्छन् ।’
उनको प्रथम प्रकाशित रचना फिरफिरेको बिहे (२०६७)हो । उनका अन्य प्रकाशित कृतिहरूमा हजुरआमालाई उपहार (२०७०), कालो बिरालो (२०७१), बहुलाएको रुख (२०७३), बोजराज र बाउन्ने (२०७३) सर्प र न्याउरीको खेल (२०७४) फुर्वाको फार्म (२०७४) फुर्वाको फोटो (२०७७) डोमु र लमु सिरिज १ देखि ४ सम्म द एसिया फाउन्डेशन, छठ टीकटक बालविसङ्केतनमाला, गोगने गोमन बालविसङ्केतनमाला, मोबाइलको फूर्ति बालविसङ्केतनमाला, उषाको ठोटरी बालविसङ्केतनमाला, सेलबोन (भिडियो कथा), पाहाको तेल (भिडियो कथा), लाले र काले (भिडियो कथा), सालक र बालक (भिडियो कथा) र बोगाल गिक बिजाराप (तामाङ बालकथासंग्रह) रहेका छन् । उनै नेत्रसँग हर समयका जयराम सापकोटाले गरेको कुराकानी ।
यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
वि.सं. २०६७ माघबाट बाल साहित्य लेखनमा पाइला चालेँ । त्यही वर्ष नागरिक दैनिक पत्रिकाको बालअंक जूनकीरीमा पहिलो बालकथा फिरफिरेको बिहे प्रकाशन भएको हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
नागरिक दैनिकको जूनकीरीमा हरेक हप्ता एउटा बालकथा छान्ने जिम्मा हुन्थ्यो मेरो । थुप्रै कथा आउँथे प्रकाशनका लागि अनुरोधसहित । बजारमा आएका बालकथाका नयाँ किताब पढेर तिनका बारेमा लेख्ने पनि मेरो जिम्मेवारी थियो । ती कथा पढ्दै छान्ने र किताब परिचय लेख्ने क्रममै कतिबेला कथा लेख्न थालेछु– पत्तै पाइनँ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
खेतीपाती नै लेखन हो । हलो–कोदालो चलाउन छाडेर लेख्न थालेकोले दिनको सुरूवात र अन्त्य पनि लेखेरै हुन्छ ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
लेखन जहिल्यै असन्तुष्ट पेशा हो । केही न केही कमी हुन्छ । कहिले अनुसन्धान पुग्दैन त कहिले समय । जब प्रकाशन भएर आउँछ । तरकारी पस्कँदा कहिले बेसार बढी भएझैं त कहिले नुन नपुगेझैं खल्लो हुनु स्वाभाविक हो । फेरि सन्तुष्ट भए अर्को रचना तयार पार्ने जाँगर पनि चल्दैन नि !अहिले तामाङ पत्रकार संघको अध्यक्षमा तीन वर्षका लागि चुनिएको छु । तामाङ समुदायका विषयमा मैले लेख्न सकिरहेको छैन । यसैले म आफ्नो समुदायका लागि पनि लेख्ने प्रयासमा छु ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अहिले म तामाङ संस्कृतिसँग सम्बद्ध विषयमा पाठ्यक्रमका लागि आवश्यक विषयहरू अध्ययनका क्रममा छु । एक वर्षअघि अमेरिकी सरकारको छात्रवृत्तिमा गत वर्ष अमेरिकाको हवाई पुगेर दुई महिना इन्डो पेसिफिक देशका नेतृत्व तहसँग बसेर साहित्य, संस्कृतिबारे ज्ञान आदानप्रदान गरेँ । यसमा साहित्य भनेको आफ्नो समुदायको जीवनदेखि मरणसम्मका सम्पूर्ण विषय समेटिने रहेछ । तिनलाई उनेर राख्न सके त्यो देशको सम्पत्ति बन्ने रहेछ । जसरी नेपाली साहित्यको विशाल क्षेत्र छ, तामाङ समुदायको साहित्य पनि विशाल रहेछ । यसको स्कुलिङ उस्तै फराकिलो रहेछ । यी विषय पठाउनका लागि बेग्लै विश्वविद्यालय स्थापना गर्ने उद्देश्यसहित यसका लागि आवश्यक सामग्रीको खोजीमा छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
राष्ट्र यदि सरकार हो भने साहित्य र स्रष्टाप्रति यसको जिम्मेवारी प्रशस्तै हुन्छ । तर सरकारले यो फल्न फुल्न एकेडेमी, कोर्स बुक, विभिन्न प्रतियोगितादेखि प्रकाशनसम्मका प्लेटफर्म तयार गरिदिएका छन् । नेपालमा रहेका हरेक भाषाको साहित्यलाई सरकारले यस्तो प्लेटफर्म तयार पारिदिनुपर्छ । अर्को कुरा लेखकलाई साधारण जीवनबाट केही माथि उकास्ने हो भने राज्यले पनि मार्केटिङ गरिदिनु आवश्यक पर्छ । कुनै भाषालाई जोगाउन एउटा कविता प्रतियोगिता आयोजना गरेरमात्रपुग्दैन ।
तपाईंको साहित्यिक आदर्श के हो ?
बालबालिकालाई मनोरञ्जनात्मक तरिकाबाट साहित्यमार्फत ज्ञानबर्धक खुराक दिनुपर्छ भन्ने मेरो मान्यता हो । हाम्रो गाउँघरमा सुनेका लोककथा मेरो साहित्यको आदर्श हो ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
सबैका आ-आफ्ना प्याटर्न हुन्छन् । इमानदारीले मात्र उचाइमा पुगिन्छ भन्ने हेक्का सबैलाई हुन्छ । त्यसैले आफ्नो विम्ब त लेखाइमा आइहाल्छ ।
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
एउटा कृतिबाट सन्तुष्ट हुने हो भने अर्को कृति तयार नै गर्न सकिँदैन । अघिकै कुरा जोड्दै मलाई लाग्छ हरेक लेखक कहिल्यै सन्तुष्ट हुन्न । म पनि सन्तुष्ट छैन ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
पहिले साहित्य मानिसमा सीमित थिए । मानिसले मानिसको व्यवहार हेरेर सिक्थे । पछिल्ला किताबमा धर्म, युद्ध र प्रेमका कुरा आउन थाले । साहित्य लिपिबद्ध हुन थाल्यो । दृश्य चलचित्र हुँदै अहिलेको संसारमा डिजिटल प्रविधि छिरिसक्यो । अब त पढ्दै हेर्दै सिक्ने बढेका छन्। कुनै लेखकले लेखेको विषय उनले व्यवहारमा लागू गर्छन् कि गर्दैनन् हेर्छन् ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
ठ्याक्कै सिद्धान्त मान्ने दिन अब गइसक्यो । कसैले बुनेको स्विटर अर्कोले लगाउन मन गर्छ । उसले लगाएको देखेर अरूलाई पनि लगाऔँ/लगाऔँ लाग्छ । हो यस्तै मीठो होस् न साहित्य । तर यही शैलीमै घोक्रेठ्याक लगाउन त सकिन्न । तर कोरियोग्राफी भने मिलेको हुनैपर्छ ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
अभावले । बालबालिका खानामा मात्र हैन– कन्टेन्टमा पनि खन्चुवा हुन्छन् । उनीहरूलाई क्षणमै नयाँ कन्टेन्ट चाहिन्छ । यही कुराको अभाव छ नेपाली बाल साहित्यमा ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
बालकथा लेखनमा कुनै निश्चित समय हुन्न । मनमा कथा बुन्न थालेपछि कल्पिँदै पूरा हुँदै जान्छ । यात्राका क्रममा र काम गर्ने क्रममा । प्लट तयार भएपछि टाइप हुन थाल्छ । त्यसपछि धमाधम अघि बढ्छ लेखनको काम ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
म त्यस्तो मुडी छैन ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
बालबालिकाका रुचि । उनीहरूले राख्ने जिज्ञासा । साझा समस्याहरू । विज्ञान र धर्म । संस्कार, विज्ञान, मनोविज्ञान र प्रविधि जोडेर कथा लेख्न मन पराउँछु ।
सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
धेरै अनुसन्धान, अत्यधिक अध्ययन । सही समयमा लेखन तथा प्रकाशन ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?
कविता र कथा ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
दुवै चाहिन्छ ।तर बढी काल्पनिक नै । किनभने सजीवताले विगत जोड्छ । काल्पनिकताले भविष्य । हामीले भविष्यलाई नै प्राथकिमतामा राख्नुपर्छ । हामीले पढ्ने इतिहास हामीलाई कति मीठो लाग्छ । इतिहास पनि त कति काल्पनिक हुने रहेछ । त्यसैले सिर्जनामा यी दुवै विषय अति आवश्यक ठान्छु ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
अरूका कथा पढेपछि । कक्षाकोठामा बालबालिकाका कोर्स हेरेपछि । आफ्नो समुदायमा साहित्यका पुस्तक नदेखेपछि ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अरूका सुझावको पछि लागेर लेखक बन्न सकिन्न ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
लेखक पनि स्वतन्त्र प्राणी हुन् । राजनीतिक दलको झण्डामुनि ओत लाग्न जानु उसको स्वतन्त्रता हो ।
लेखनको क्रममा सबैभन्दा बढी खुसीको क्षण ?
आफ्नो रचना सरकारी पाठ्यक्रममा पर्दा । जम्बियाङको जन्मदिन शीर्षकको कथा कक्षा ५ को अनिवार्य नेपालीमा पर्दा निकै खुसी लागेको छ । छापिएको किताब हात पर्दा झनै खुसी । कक्षा ४ मा निजी विद्यालयमा पनि यसै वर्षदेखि परेको छ । यो पनि निकै खुसीलाग्दो क्षण थियो । यसैगरी भूकम्पसम्बन्धी लेखेको च्याप्टर किताब ‘बोजराज र बाउन्ने’ अंग्रेजी संस्करणमा प्रकाशन हुँदा पनि निकै खुसी लाग्यो । यो कथालयबाट प्रकाशन भएको किताब हो । अमेरिकामा २० देशका साथीलाई अंग्रेजी संस्करण बाँड्न पाउँदा निकै खुसी लागेको थियो ।