
काठमाडौं - शुक्रबार साँझदेखि ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । लिच्छवि हाउसको आयोजनामा बबरमहल स्थित नेपाल कला परिषद्मा उक्त प्रदर्शनी सुरु भएको हो ।
आगामी असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, विधाता केसी, वर्षा मुखिया, रश्मि कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मिना कायस्थ, सुशीला सिंह र तेन्जिङ साङ्मोले पाँच तत्त्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको छ ।
आगामी असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
यस्तै यस प्रदर्शनी लिच्छवि हाउसको कलामार्फत् अर्थपूर्ण संवाद गर्ने उद्देश्यको निरन्तरता हो, जसले २०२४ को चर्चित प्रदर्शनी " एनआइसीसीए : चेन्ज, लाइफ, वर्ल्ड " पछि अर्को महत्त्वपूर्ण अध्याय थप्नेछ। त्यो प्रदर्शनीमा अन्तर्राष्ट्रिय कलाकारहरू सहभागी थिए । तर यस पटक भने नेपालमा ऐतिहासिक रूपमा कम प्रतिनिधित्व पाएका आवाजहरूलाई प्रस्ट रूपमा प्रस्तुत गर्ने प्रयास स्वरूप यो संस्करणमा विशिष्ट रूपमा नेपाली महिला कलाकारहरूलाई केन्द्रमा राखिएको छ।