Harsamaya
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन:  माधव वियोगी
ग्राफिक्स: हर समय/Har Samaya

हालसम्म दशवटा महाकाव्य लेखेर नेपाली साहित्यका फाँटमा नयाँ योगदान गरेका माधव वियोगी पोखराका स्थायीवासी हुन् । विष्णुमाया र अग्नधर घिमिरेबाट जन्मेका उनले फुटकरकविता, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास, समालोचना, गीत, गजललाई लेखनविधा बनाएका छन् । उनीद्वारा लिखित पहिलो रचना आषाढ शीर्षकको कविता हो भने पहिलो प्रकाशित रचना लेखनाथमा श्रद्धान्जली (कविता) थियो । पुस्तकाकाकार कृतिका रूपमा भने उनको भावनाको लडाइँ (कवितासङ्ग्रह–२०४५) पहिलो हो । व्यक्तिपरक खण्डकाव्य र महाकाव्य पनि सिर्जना गरेकाका वियोगीले समाज–सुधार र विद्रोहलाई प्रशस्त आत्मसात् गरेका छन् ।  

नारी स्वतन्त्रताका पक्षपाती उनले महान् क्रान्तिकारी नारी योगमाया न्यौपानेको जीवनीबारे योगमाया (महाकाव्य) २०७४ मा प्रकाशनमा ल्याएका थिए । ४१ वटा कृति नेपाली समाजलाई दिएका वियोगीका एक दर्जनभन्दा बढी पाण्डुलिपि सुरक्षित रहेका छन् । बीएल, बीएड र एमए उत्तीर्ण गरेका उनी वि.सं. २०४० देखि शिक्षण पेशामा संलग्न भई जनप्रिय बहुमुखी क्याम्पस प्रमुख बन्नु भई हाल सेवानिवृत्त छन् । साथै २०४१ देखि निरन्तर कानुनी परामर्श सेवा तथा पत्रकारितामा सक्रिय उनले मेरो पत्रकारिता र सम्पादकीय नामक कृति प्रकाशनमा ल्याएका छन् । लेखनाथ पौडेल, माधव घिमिरे र मुकुन्दशरण उपाध्यायलाई छन्दलेखनका आदर्श मान्नुहुने वियोगी भन्छन्– ‘सृष्टिको उषाकालदेखि नै छन्दपरम्पराको थालनी भएको मलाई लाग्छ, त्यो समय छन्दको प्रयोग कवितामा नभएर मान्छेका मीठासपूर्ण सद्वाणीमा हुन्थ्यो । सौन्दर्यप्रतिको आकर्षण, मिष्ठ भोजनको आस्वाद, सुमधुर वाणीको श्रवण र सुखमय जीवनयापन मान्छेका स्वाभाविक गुण हुन् । मान्छेका यिनै स्वाभाविक गुणमा म छन्दको प्रयोग देख्दछु । छन्द धैर्य, संयमता, आत्मविश्वास र परिमार्जित जीवनशैली पनि हो ।’ प्रशस्त पुरस्कार र सम्मान पाइसकेका हंसवाहिनी देवी सरस्वतीका वरदपुत्र वियोगीले छन्द विश्वविद्यालय स्थापनाका लागि सरकारमा प्रस्ताव पेश गरिसक्नुभएको छ । उनै वियोगीसँग साहित्य लेखन, त्यसका उतारचढाव, नेपाली स्रस्टाले भोग्नुपरेको दुखहरूबारे हर समयका जयराम सापकोटाले गरेको कुराकानी । 

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मेरो साहित्य लेखन वि.सं. २०३४ देखि सुरू भयो– जतिबेला म १५ वर्षको थिएँ । त्यस वर्षको असार १५ गते आषाढ शीर्षकमा शार्दूलविक्रीडित लयको कविता रचेको थिएँ– जसको परिमार्जन २०४१ मा भयो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
म प्राकृतिक सौन्दर्यले परिपूर्ण कविशिरोमणि लेखनाथको जन्मस्थलनिकट जन्मेको मान्छे हुँ या भनौं उनको जन्मगाउँको मूलबाट ल्याइएको पानी पिएको हुँ मैले– जहाँ सातवटा ताल अद्यापि छन् । पहिलो प्रभाव त आसपासको प्राकृतिक वातावरण र लेखनाथको प्रभाव हो भने दोस्रो प्रभाव घरको आर्थिक पक्ष कमजोर भएका कारण समयमा पढ्न नपाउनु तथा अनेक समस्याले जेलिँदै गोठालो बन्नुपर्ने बाध्यता हो । प्रेरणाका सन्दर्भमा राष्ट्रकवि माधव घिमिरे र कविरत्न मुकुन्दशरण उपाध्यायलाई पनि सम्झन चाहन्छु– जसका कविताबाट म प्रभावित छु ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
यो निकै गम्भीर र जटिल प्रश्न हो । कलेजमा पढाउँछु,घरव्यवहार गर्नुपर्छ,अनेक समस्याले जेलिएको छु । स्वास्थ्य अनेक रोगले क्षतविक्षत छ,परिस्थिति मिलाएर लेख्न बस्नुपर्छ । युवा छँदा नित्य १० घण्टाभन्दा बढी लेख्ने, दुई महिनामै महाकाव्य तयार हुन्थे । अहिले त्यो स्पीड मसँग छैन । मलाई लेख्न इच्छा भए र वातावरण मिले जुनसुकै समयमा पनि लेख्छु । लेखन नै मेरो जीवनको मूल ध्येय हो । लेख्छु,लेख्न छाडेको छैन । मूल त छन्दोबद्ध कविता,खण्डकाव्य,महाकाव्य नै लेख्छु,त्यसो त निबन्ध,आख्यान,गजल र मुक्तकमा पनि म जागरुक छु । गतिविधि कमजोर भएपनि रोकिएको छैन ।

वर्तमान लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
साहित्यमा सन्तुष्टिको सीमा हुँदैन, सन्तुष्टिको सीमामा बाँधियो भने साहित्य कमजोर बन्छ। मैले जे जति गरें– त्यो संघर्षले नै गरें,गरेजतिमा सन्तुष्ट भएकै छु । जीवित नायकको पनि महाकाव्य बन्छ भन्ने सोच ल्याएँ र लेखें पनि,महाकाव्यलेखन कमजोर भयो आन्दोलन नै गरें, अहिले महाकाव्यका पाठक बढेका छन्,धेरै महाकाव्य लेखिएका छन् । म आफैंले हरेक वर्ष महाकाव्य लेख्ने घोषणा गरें र लेखें पनि । छन्द मर्न लाग्यो भनेर बचाउन आन्दोलन गरें,छन्द बाँच्यो,वाचनको परम्परा हुर्कँदैछ, सरकारले छन्द दिवस तोकेको छ । कृतिको चर्चा भइ नै रहन्छ । जब मेरा प्रयत्नले राष्ट्रले केही पाएको छ र म स्वयंले पनि केही पाएको छु भने अब मैले हालसम्मका काममा सन्तुष्ट छु भन्न त मिल्यो नि !

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
मैले अघिनै संकेत गरेको छु । मैले लेखन कार्यलाई निरन्तरता दिइरहेको छु । म के लेख्दैछु भन्ने कसैलाई थाहा हुँदैन,मैले त्यसबारे कैल्यै कसैलाई भन्ने गरेको छैन र यहाँ पनि भन्दिनँ । त्यो किनभने यस्तो लेख्दैछ उस्तो लेख्दैछ भन्दा त्यो कृति पूरा हुन्छ कि हुँदैन, छापिन्छ कि छापिन्न,पछि कसैले छापियो ? लेखेर सकियो ? भन्दा के जवाफ दिने ।अर्को कुरा अगाडि नै विषय भन्दा त्यसप्रकारको लेखनकार्य आफूले प्रकाशमा नल्याउँदै अरूबाट प्रकाशन हुन पनि सक्छ । मैले अप्रकाशित कृतिको नाम उल्लेख गर्न पनि छाडेको छु । नयाँ कृति भने सिर्जिएकै छु,सिर्जिरहने छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य र स्रष्टाप्रति राष्ट्रको जिम्मेवारी गहन र प्रभावकारी हुनुपर्छ तर त्यसप्रकारको जिम्मेवारी राष्ट्र वा राज्यले गरेको पाइन्न । साहित्य जनचेतनाको अभिवृद्धि गर्ने महत्त्वपूर्ण साधन हो भन्ने राज्यले बुझ्न सकेको छैन । राज्यका दृष्टिमा साहित्य अझै पनि अनुत्पादक क्षेत्र बनेको छ । जबसम्म साहित्यलाई राज्यले उत्पादनमूलक क्षेत्र मान्दैन– तबसम्म स्रष्टाहरू बलिया र सम्पन्न हुँदैनन् अनि राज्यले पनि स्रष्टाबाट केही पाउन्न । राजनीतिलाई बलियो र फूटनीतिलाई कमजोर पार्न साहित्यकै भूमिका रहन्छ । स्रष्टाहरूको धनी देश भएर पनि राज्यले तिनलाई नचिन्दा देशै कमजोर बनेको अवस्था छ । बरू स्रष्टालाई समेत अनेक प्रलोभनमा पारेर वा नाना पदको आश देखाएर आफ्नो दलमा हुल्ने काम भएको छ । स्रष्टाहरू त्यसतर्फ उन्मुख हुन बाध्य भएका छन्, प्रज्ञा प्रतिष्ठानलगायतका संस्थाका नियुक्तिबाट पनि सो स्पष्ट हुन्छ । देशको साँच्चै विकास गर्ने हो भने राज्यले स्रष्टा र साहित्यलाई साथै लिएर हिँड्नुपर्छ– राष्ट्र निर्माण र राजनीतिमा होइन ।

तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो साहित्यिक आदर्श काव्य संस्कृतिको रक्षा विना साहित्यको वास्तविक विकास सम्भव छैन भन्ने नै हो । जो वर्तमान लेखन पद्धति र चलनसँग मेल खाँदैन । म छन्दलाई काव्य संस्कृतिका रूपमा मान्छु । कुन विधाको जन्म कसरी भयो र कुन प्रयोजनका लागि सो विधा आएको हो त्यसलाई मनन गरी लेखिनुपर्छ । प्रारम्भिक चरणमा कविता वा लयात्मक विधाको जन्म भएको तथ्य अब नयाँ होइन । कविताकै जन्मले अन्य विधा क्रमशः रचिँदै आएको भन्नेमा विश्वस्त छु । छन्द नै साहित्यको आमा भएको तर्क मैले गरेको छु । निबन्धलाई लामा छोटा हरफमा राखी कविताकाव्य बनाउने, महाकाव्यलाई छोट्याएर खण्डकाव्य बनाउने, लेख,समाचार आदिलाई निबन्ध मान्ने, तथा संवाद हुँदैमा आख्यान मान्ने जुन परम्परा हावी भएको छ– म त्यसलाई मान्दिनँ । हरेक विधाका आफ्नै संस्कृति तथा लेखनसंस्कार छन्– त्यसलाई त्याग्दा नै विकृति मौलाउने हो । नयाँ विधामा पनि त्यस्तै विकृति मौलाएको पाइन्छ । नयाँ छन्दको निर्माण पनि अन्जानमा आएको विकृति नै हो । तसर्थ आदर्श भनेको यदि नयाँपन वा अरूभन्दा फरक हो भने मेरो साहित्यिक आदर्श काव्य संस्कृतिको रक्षा नै हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व वहन गरिरहेका छन् त ? तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
केही हदसम्म त लेखकले आफ्नो दायित्व पूरा गरेकै मान्नुपर्छ तर समग्रमा हेर्ने भने दायित्व निर्वाहको काम निकै कमजोर अवस्थामा छ । दायित्व र कर्तव्य सँगै लैजान सक्नुपर्छ । कर्तव्य नै नगर्नेले दायित्व पूरा गर्छ भन्न सकिन्न । के लाग्छ भने कर्तव्य गर्नै पर्ने काम हो भने दायित्व तिर्नुपर्ने ऋणजस्तै हो,जिम्मेवारी हो । नेपाली लेखकको आफ्नै किसिमको दायित्व छ । जनभावना बुझेर देशका समस्याप्रति सचेत रही प्रेरणादायी साहित्य सिर्जनुपर्छ । काव्य संस्कृतिमा आँच आउने सिर्जनालाई निस्तेज पार्दै लग्नुपर्छ,आफ्नो सिर्जनाले कमसेकम धेरैलाई  सुधारात्मक बाटोमा लैजाओस् वा सकारात्मक सोचतर्फ उन्मुख पारोस् भन्ने सोच राखेर साहित्य लेख्नुपर्छ । रचना पढेर गरिबले धनी बन्ने उपाय सिकोस्, चोरले चोर्न छाडोस्, नेता वा जोसुकैले भ्रष्ट प्रवृत्ति त्यागून्,देशभक्तिको भावना उच्च होस्, इत्यादितर्फ पनि लेखकको ध्यान जानु जरूरी छ । यसो भएमात्र दायित्व निर्वाह गरेको ठहरिन्छ । तर अहिलेका लेखाइ पुरस्कार र सम्मानका लागि अधिक मात्रामा लेखिन्छ । छन्द बचाऊँ अभियान–२०५३ को घोषणापत्र नै छन्दको मानक र छन्द विज्ञानको आधारका रूपमा देखापर्नु मेरा लागि थप खुसीको कुरा हो ।

जहाँसम्म मेरो सन्तुष्टिको कुरा छ– आफ्नो दायित्व धेरै हदसम्म पूरा गरेकाले सन्तुष्ट छु । काव्य वा साहित्यमा देखा परेका विकृति रोक्न र गुणस्तर बढाउन मैले सञ्चालन गरेका छन्द बचाऊँ अभियान–२०५३ र महाकाव्यलेखन अभियान–२०६० नै मैले भाषासाहित्य र राष्ट्रप्रति पूरा गरेको दायित्व हो । त्यस्तै  मैले जनभावना बुझेरै कृति सिर्जना गर्ने र छाप्ने काम गरेको छु,सकेसम्म सकारात्मक सोच प्रवाह हुने खालका आफ्ना सिर्जना भएकोमा म विश्वस्त छु ।

यहाँद्वारा सञ्चालित छन्द बचाऊँ अभियानबारे केही भन्नुहोस् न ?
यसकालागि मैले आफ्नो तन,मन र धन समेत अर्पण गरेको छु । भाषा,साहित्य,कला र संस्कृतिलाई उच्च मानवीय आदर्शको रूपमा अनुशरण नगरेसम्म राष्ट्रको समग्र र दिगो भौतिक तथा मानवीय उन्नति सम्भव छैन । हाम्रा सांस्कृतिक मूल्य, मान्यता र आदर्श दिनप्रतिदिन खिइँदै गएका छन् । साहित्यमा विशेष गरी कवितामा छन्दको प्रयोग हराउँदै गएकाले विसङ्गति देखा परेको छ ।

काव्य संस्कृतिको रूपमा रहेको छन्दलाई जोगाउन र यसको उच्च मूल्यलाई व्यापक तुल्याउन आजका बाल र युवा पिँढीलाई सजग तथा सचेत पारी छन्दलाई एकादेशको कथा हुन दिनबाट रोक्न,गद्यलाई कविता मान्ने प्रचलन अन्त्य गर्न,मर्यादित,शिष्ट एवं अनुशासित तबरले कविता लेख्नेतर्फ सबैलाई उन्मुख गराउन,छन्दलाई जीवनशैलीका रूपमा अवलम्बन गर्न र साहित्यिक संस्था र यससम्बद्ध सबै पक्ष तथा सरकारलाई समेत साहित्यिक मर्यादा भङ्ग हुन दिनबाट रोक्न पाइला चाल्ने बनाउन राष्ट्रव्यापी आन्दोलनको रूपमा ‘छन्द बचाऊँ अभियान–२०५३’ को सञ्चालन भएको हो ।

हाल अभियान सफल बनेको तथ्यको संकेत मैले माथि नै गरिसकेको छु ।अभियानका गतिविधि झल्कने ग्रन्थ बजारमा आइसकेको छ भने आज यो साझा अभियान बनेको छ । मैले २०४० को दशकारम्भमै छन्द प्रशिक्षण दिएर आन्दोलनको पूर्वाधार, खडा गरी छन्दको दुरवस्था रोक्न थालेको यो अभियानअन्तर्गत मैले राखेको प्रस्तावलाई सरकारले वैशाख ८ गतेलाई छन्ददिवसको मान्यता दिएको छ भने छन्दमा कविता रचना र वाचनको लहरै आएको छ ।

महाकाव्यलेखन अभियान किन ?
महाकाव्यलेखन अभियान– २०६० वास्तवमा छन्द बचाऊँ अभियान २०५३ को पूरक अभियानका रूपमा भएको भएपनि यसले नेपाली साहित्यमा छुट्टै पहिचान बनाएको छ । यस अभियानको मूल उद्देश्य महाकाव्यका पाठक प्रशस्त छन् र महाकाव्यको युग समाप्त भएको छैन भन्ने देखाउनु हो । महाकाव्यका पाठक छैनन्,अब महाकाव्य लेख्नु व्यर्थ छ भन्दै हल्ला गर्ने काम तीव्र गतिमा भएकाले नै यो अभियान मबाट सञ्चालन भएको हो । महाकाव्य लेखनमा पनि थुप्रै विकृति आएकाले त्यसलाई रोकी महाकाव्यको स्तर वृद्धि गर्नसमेत  आवश्यक देखेर पनि यो अभियान थालिएको हो । त्यस्तै गरी ४/५ सय श्लोक कुनै विषयमा आबद्ध हुनेबित्तिकै महाकाव्य भनी छाप्ने,छन्द प्रयोगसमेत नगरी गद्य शैलीमा महाकाव्य लेख्नु, २०/२५ श्लोकका सर्ग तयार गर्नु,जीवित नायकको महाकाव्य नबन्ने तर्क राख्नु,शास्त्रीय नियमपालना नगर्नुलगायतका विकृतिको समेत अन्त्य हुनुपर्ने आवश्यकता भएकाले पनि यो अभियान सञ्चालन गर्नुपरेको हो । मैले महाकाव्य लेखनमा समेत औपचारिक र अनौपचारिक दुवै रूपमा प्रशिक्षण दिने गरेको छु ।

धीरोदात्त गुणयुक्त वा राष्ट्र र समाजका लागि सन्देश बन्न सक्ने मृत वा जीवित नायक, कम्तीमा आठ सर्गको व्यवस्थापन, हरेक सर्गको कम्तीमा एउटा पृथक् छन्दको प्रयोग,रस र अलङ्कारको समायोजनलगायतका कुरा पनि उठाएको छु ।

यीमध्ये अधिकांश शास्त्रकै विधिविधान हुन् भने केहीमात्र मैले थप गरेको हुँ । महाकाव्य लेखकसंघको आवश्यकता पनि घोषणापत्रमा औँल्याइएको छ । म स्वयंले हरेक वर्ष एउटा महाकाव्य रचना गर्ने घोषणा गरेको थिएँ । १५/१६ वर्षसम्म घोषणा गरेअनुरूप काम भएपनि हाल स्वास्थ्यका कारण अप्ठेरोस्थिति आएको छ । देशमा  महाकाव्य लेखनमा  तीव्रता आएको छ एकातिर भने अर्कातिर गुणस्तर पनि बढेको छ । 

छन्द विश्वविद्यालय स्थापनार्थ पनि लाग्नुभएको कुरा सुनिएको  थियो, त्यसमा के हुँदैछ ?
हो, यतिबेला म छन्द विश्वविद्यालय स्थापनाको दौडमा छु । यो छन्द बचाऊँ अभियानअन्तर्गतकै काम हो । नेपाल सरकारमा त्यसबारे प्रस्ताव पेश भइसकेको छ,अन्य सम्बद्ध निकायमा पनि जानकारी दिइएको छ तर जवाफ केही आएको छैन । हाल छन्द विश्वविद्यालय भनिएपनि त्यसमा पिङ्गल नाम जोडिन पनि सक्छ । हजारौंको संख्यामा रहेका छन्दलाई अब विश्वविद्यालयबाटै छुट्टै पढाउन आवश्यक देखिएकाले सो कार्यलाई अघि बढाइएको हो । छन्द प्रशिक्षण केन्द्रको सञ्चालन मैलै आफ्नै निवासमा गरेको छु । छन्द सिकाउने काम त धेरै संस्थाले सामाजिक सञ्जालमार्फत गरेकै छन् तर विश्वविद्यालयको प्रकृति छुट्टै हुन्छ, छन्दमात्र सिकिने हुँदा कविताका दृष्टिले नेपाल एक महासागर हुनेछ । धेरै छन्दशास्त्री र छन्दकविले मीठो  रोजगारी पाउनेछन् । अर्को कुरा वैशाख ८ गतेको छन्ददिवस विश्वभर मनाउन र हरेक देशमा छन्द विश्वविद्यालय स्थापनार्थ आग्रह गर्दै संयुक्त राष्ट्रसंघलगायत केही देशमा पत्राचारसमेत म स्वयंले गरेको छु । लाग्छ– कुनै दिन यो कार्य सम्पन्न हुनेछ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साहित्य लेखनमा हिजो र आजको तुलना सहजै गर्न सकिन्छ । मैले प्राथमिक र माध्यमिककालीन साहित्यकारसँग सङ्गत गर्न नपाए पनि तिनीहरूका कृतिको अध्ययन गरेर,ती कृतिबारे लेखिएका समालोचना पढेर र कतिपय ती कृति अध्यापन गरेर जानकारी भने प्रशस्त लिएको छु । आधुनिक साहित्यसँग भने म निकै परिचित छु,आफैं सर्जक भएको पनि कृति तथा लेखकको समेत अध्ययन गरेको छु । हिजोको साहित्य थोरै मात्रामा लेखिए पनि उच्चस्तरको भावनायुक्त थियो । अहिलेको जस्तो शैली र विषय नभएपनि ती कृतिमा उच्चस्तरको सन्देश थियो । नैतिकता,आध्यात्मिकता र सामाजिक परिवेशको चित्रण दरो थियो ।

स्रष्टामा आपसी प्रेम,सद्भाव र सहयोगभाव थियो,ईर्श्या र बेमेल थिएन । तर आज ती विषय ओझेलमा परेका छन् । स्रष्टामा सद्भाव हराउँदै गएको छ,व्यावसायिक बन्ने नाममा चाकडी चलेको छ,दलको झोले बन्ने काम भएको छ,गुटबन्दी छ,काव्यसंस्कृतिप्रति अनास्था गरी मनपरि ढङ्गले लेखिएको छ । भनौं अस्वस्थ प्रतिस्पर्धा छ । मोतीराम भट्टजस्ता गुणकारी स्रष्टा खै ?

माध्यमिककालमा जन्मेका र आधुनिक काल आएपछि पनि जीवित रहेका केही स्रष्टाबाहेक अन्यको लेखनमा स्वच्छता र पवित्रता पाइँदैन । कमजोरै भएपनि धेरै कृति छाप्ने होडबाजी पनि त्यत्तिकै छ । हिजो पुरस्कार त्यति थिएन्,आज सयौंको संख्यामा पुरस्कार छन्,जेजसरी पाएपनि स्रष्टाले नै पाएका छन् । सरकारले पनि पुरस्कार बाँड्छ । साहित्यमा नयाँ विधा भित्रिएका छन्,तर तिनको आधिकारिकता संकटमा छ । नमीठोभित्र मीठो र विकृतिभित्र विकास त भएकै छ । हिजोका स्रष्टा साधनसम्पन्न थिएनन् आज साधनसम्पन्न छन् । यत्ति हो कि हिजोको जस्तो ओजिलो साहित्य अहिले लेखिएको छैन,हिजोकै कृतिका कुरा विस्तार भएका छन् लेखाइमा । यसको तात्पर्य अहिले नयाँ विषयमा लेखिन्न भन्ने होइन ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
मैले अघिल्ला प्रश्नका उत्तरमा केही आसय यस सम्बन्धमा भनेकै छु । साहित्य लोकोपकारी लेखिनुपर्छ समाजलाई प्रगतिको बाटोमा लम्काउने खालको । नैतिक चेतनाको अभिवृद्धि हुने, नकारात्मकताले स्थान नपाउने,राष्ट्रियता र देशप्रेमको भावना जागृत हुने, इतिहासको सम्मान हुने,कर्मशील बन्न प्रेरित गर्ने,आजको विज्ञान र प्रविधिको औचित्य दर्साउनेलगायतका सन्देश दिने खालको साहित्य लेखिनुपर्छ । लेख्नका लागि मात्र नभएर केही दिने सोचका साथ लेखिनुपर्छ ।

लेखनप्रति के ले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
कवि लेखकलाई एउटै कुराले प्रेरणा दिएको हुँदैन । लेखक कुन परिवेश र कस्तो अवस्थामा बाँचेको छ त्यसले पनि उसले पाउने  प्रेरणामा प्रभाव पार्छ । मूलतः दुख,समस्याले लेखक बनेका,असफल प्रेमका कारण लेखक बनेका, कसैका वचनका प्रभावले लेखक बनेकाआदि प्रसङ्ग पाइन्छन् । र पनि प्रतिभाको कुत्कुती लेखनका सम्बन्धमा महत्त्त्वपूर्ण हुन्छ । ऊ आफैँभित्रको चैतन्य लेखनप्रति जागरूक हुन सक्यो भने सच्चा साहित्यको जन्म त्यसैले गराउँछ। अरूका कृतिको अध्ययन, लेखकसँगको सरसङ्गत,वातावरण, उत्कृष्ट विद्याको प्राप्ति आदिले पनि व्यक्तिलाई लेखक बनाउँछ, प्रतिभामात्र लेखनका लागि सर्वोपरि होइन जस्तो लाग्छ । हिजो आज अभ्यास वा साधनबाट पनि लेखक बनेका छन् धेरैजना । कतिपयका लागि लेखन संस्कारका रूपमा पनि मौलाएको पाइन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेखनका लागि प्रेरक तत्त्वमा वातावरण पनि पर्छ । कतिपय लेखक जस्तोसुकै परिस्थितिमा पनि लेखनमा सहभागी भइरहन्छन् । उनीहरूलाई होहल्ला हुनु र शान्त परिवेशले कुनै असर पार्दैन । वातावरण प्रतिकूल होस् वा अनुकूल– तिनलाई कुनै वास्ता हुँदैन ।

तर धेरै लेखकलाई शान्त र एकान्त वातावरणमा लेख्नुपर्छ । यो सर्वोत्तम वातावरण हो लेख्नका लागि । शान्त र एकान्त वातावरणमा लेखिएको विषय पुष्ट हुन्छ, त्यसमा सबै कुरा समेटिएको हुन्छ, लेखाइ सोचपूर्ण र सन्देशमूलक हुन्छ । पारिवारिक सद्भावपूर्ण वातावरण पनि लेखनमा अपेक्षित हुन्छ । परिवारको सहयोग र सद्भाव पाएर लेख्दा पनि खँदिलो सिर्जना गर्न सकिन्छ । परिवारको साथ रहेन भने लेखाइ कमजोर बन्नेमात्र नभएर हीनताभाव उत्पन्न हुन्छ ।

हीनताभाव बोकेर असल साहित्य सिर्जना गर्न सम्भव छैन । अर्को कुरा लेखकलाई राज्यले आवश्यक सुविधा दिनु पनि वातावरण लिनु नै हो । लेखेर के पाइन्छ भन्ने सोच नआओस्, लेखेँ भने म सहजै जीवन निर्वाह गर्न सक्छु भन्ने भाव जागृत होस् अनिमात्र राज्यले वातावरण दिएको ठहर्छ । लेखनलाई राज्यले व्यावसायिक बनाउने वातावरण दिनुपर्छ उत्पादनमूलक क्षेत्रमा गणना गर्नुपर्छ । मूलतः घरायसी,राष्ट्रिय र व्यक्तिगत वातावरण सकारात्मक चाहिन्छ लेखनका लागि ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
म लेख्ने विषय प्राथमिकताका आधारमा छन्छु । कुन विषयमा मैले लेखेँ भने राम्रो लेख्न सक्छु,त्यसले छिट्टै चर्चा पाउन सक्छ भन्ने योजना बनाएरमात्र लेख्ने गर्छु । म पुरस्कारका आशाले कुनै पनि विषय छान्दिनँ । समसामयिक विषयभन्दा म प्रायः पुराना विषयलाई उजागर गर्ने गर्छु,नयाँ विषयमा लेख्दै लेख्दिनँ भन्ने होइन । राष्ट्र र समाजका लागि उत्कृष्ट काम गरेका जीवित वा मृत व्यक्तिबारे धेरै लेखेको छु । पुरानो मूल्य र मान्यतामा व्यापक रहेको नैतिकता,इमानदारी र व्यावहारिक आदर्शका विषयमा पनि लेखेको छु । समसामयिक देशका समस्या,नेताका प्रवृत्ति,गरिबी,सशस्त्र युद्धलगायत पनि मेरा विषय बनेका छन् ।

सफल स्रष्टाका आवश्यक गुण के के हुन् ?
गुणको तात्पर्य असल स्वभाव र कर्म नै हो । असल हुन असल कर्म नै चाहिन्छ । पहिला असल कर्म गरेपछि असल भइने हो या असल साहित्य लेखेपछि असल भइने हो यसबारेमा यसै भन्न सकिन्न । व्यक्ति खराब छ तर असल साहित्य लेख्न सक्छ र व्यक्ति असल छ तर खराब साहित्य लेख्न सक्छ । हामीले असल साहित्य लेख्ने असल साहित्यकारको सन्दर्भ जोड्नुपर्ने हुन्छ । असल स्रष्टाले नियमित आहारविहारमा ध्यान दिन्छ,जीवनको औचित्य बुझ्छ । उसमा छलछाम र षड्यन्त्र गर्ने प्रवृत्ति हुँदैन । नैतिकता, इमानदारी,कर्तव्यनिष्ठता, सद्भाव र शान्तिप्रियता, आदर,सत्कार र प्रेमको विशिष्टता,मृदुभाषिता,संस्कार र संस्कृतिप्रति सचेतता, कल्याणकारीता आदि असल साहित्यकार वा स्रष्टाका गुण हुन् । स्रष्टा शालीन र भद्र हुनु पनि त्यत्तिकै जरूरी छ । नशालु पदार्थ सेवन नगर्ने,अनावश्यक ठाउँमा नजाने,खराबलाई सुधार्ने,कम बोल्ने र काम धेरै गर्ने आदि भए अझ सुनमा सुगन्ध भएझैं हुन्छ । यी सब गुणलाई मैले समष्टिगत रूपमा छन्दशैलीगत चरित्र र व्यवहार मानेको छु ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?
यही विधाका पाठक बढी छन् भन्न कठिन छ । यसका लागि अनुसन्धान हुनु जरूरी छ । समय समयमा हामी विधागत रूपमा पाठक यति र उति भन्ने गरेको पनि पाउँछौं । तर त्यो आधिकारिक होइन । आफूले लेख्ने मूल विधालाई आधार मानेर त्यस्तो हल्ला फैलाउने पनि गरिन्छ । जहाँसम्म मेरो महसुसको कुरा छ– त्यो अरूको भन्दा अलि फरक छ । इतिहासमा कविता बढी पढिन्थ्यो र त्यो सही हो पनि । त्यसताका अन्य विधामा त्यति लेखिँदैनथ्यो, लेखिए पनि कमजोर लेखिन्थ्यो । बहुविधाको विकास त्यति भएको थिएन । अहिले भने करिब २० किसिमका विधा लेखनमा आएको पाइन्छ । यस परिप्रेक्ष्यमा आख्यान र कविता नै बढी पढिन्छन् । यी दुईमध्ये धेरै पाठक भएको विधा छान्नुपर्दा म कवितालाई नै छान्छु । कविताले छन्द वा लयलाई पुनः समातेको हुनाले र वाचनको नवीन युगसमेत आएकाले श्रवण र पठनलाई ध्यानमा राखी मैले यसो भनेको हुँ । पठन,वाचन र श्रवणका आधारले छन्द बचाऊँ अभियान–२०५३ का माध्यमबाट पुनर्जागृत भएको छन्दकविता नै सबभन्दा बढी चर्चित र बढी पाठक भएको विधा हो– जसले गद्यकवितालाई समेत लयात्मक र स्तरीय पार्न मद्दत गरेको छ ।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्छ ?
‘सहितस्य भावः साहित्यः’ भन्ने उक्तिलाई आधार मानेर भन्ने हो भने भाव खुलेको छ भने काल्पनिक र सजीव विषयमा भेद छैन । हितकारी साहित्य नै हामीले लेख्नुपर्छ । तर यसो भनेरमात्र  हुनेवाला केही छैन र भाव वा हितकारी भनाई साहित्यमा हुने कुरा विवादरहित नै छ तर कल्पनाबाट त्यो ल्याउने कि तथ्यबाट भन्ने कुरामा भने हामीले ध्यान दिनै पर्छ आउन सक्ने विकृति रोक्नका लागि । कल्पनात्मक साहित्य लेख्नै हुन्न भन्ने होइन तर सकेसम्म साहित्य परिवेशको अध्ययन र अनुसन्धान गरीकन लेखिएको वास्तविक साहित्यले नै साहित्य लेखनको अभीष्ट उद्देश्य पूरा गर्छ ।

साहित्य तथ्यमै आधारित हुनुपर्छ र कल्पनाको प्रयोग तथ्यलाई पुष्टि गर्ने तरहले गर्नुपर्छ । जे छ– त्यै लेख्दा त्यसले साहित्यभन्दा पनि सामान्य लेखको रूप धारण गर्न सक्छ । साहित्य रोचक तथा पढि रहौं जस्तो हुनुपर्छ,यसमा केही त्यो म ग्रहण गर्छु भन्ने खालको हुनुपर्छ । शब्द,विषय,शैली भाव आदिको समन्वय हुनुपर्छ तब पो त्यो लेखाइ साहित्य बन्छ । लेखकको तथ्यको वर्णन गर्ने कलाले कुनै पनि फलाम सुनतुल्य हुन्छ । काल्पनिकताले तथ्यलाई थप सजीव पार्ने कलालाई परिपक्व पार्न सक्नुपर्छ । यो परम्परा पुरानै हो र हाल पनि यो व्यापक छ,सजीवता र काल्पनिकताको सङ्गम नै साहित्य हो,दुवै बराबरी भए झन् राम्रो ।

लेख्नैपर्ने बाध्यता कति बेला हुन्छ ?
बाध्यता साहित्य लेखनको अनिवार्य शर्त होइन बरू यो प्रेरणा दिने तत्त्व भने हुन सक्छ । कतिपय साहित्य साहित्यकारले बाध्य भएर लेखेको भने पाइन्छ । कतिपय विषय जो कसैलाई प्रत्यक्ष रूपमा भन्न सकिन्न तर नभनी वा नओकली नहुने खालका हुन्छन् । ती विषयलाई कुनै न कुनै रूपमा लेख्न लेखक बाध्य हुन्छ । मेरो सन्दर्भमा पनि हुने त्यही हो । मलाई लेख्नैपर्ने बाध्यता भावनाले कुत्कुत्याउँदामात्र हुन्छ । अनेक समस्याले जेलिंदा,गाली खाँदा,आफैंले कसैलाई  सताउँदा, अन्याय पर्दा,देश संकटमा पर्दा,कतिपय विषयबाट असन्तुष्ट रहँदा,इच्छाविरुद्ध काम गर्नुपर्दा लेख्न बाध्य हुन्छु । अघिपछि पनि यस्तै सन्दर्भमा लेख्ने हुँदा मैले यसलाई खासै बाध्यता भन्दा पनि प्रेरणाका रूपमा लिन्छु । म फुर्सदिलो भएका बखतपनि प्रेरणात्मक बाध्यतामा पर्छु । पसल,चोकतिर गएर गफ गर्ने,जुवातास खेल्ने,अनावश्यक घुमफिर गर्ने,जाँडरक्सी खानेजस्ता कार्य गरेर फुर्सदको उपयोग गर्ने बानी मेरो नभएकाले पनि हुन सक्छ लेख्न बस्ने बाध्यता ।

किन केही स्रष्टा दलको झण्डामनि ओत लाग्ने रहर गर्छन् ?
लेखकहरू दल विशेषमा आबद्ध भएनन् भने उनीहरू धेरै चीज प्राप्तिबाट वञ्चित हुन्छन् । राज्य व्यवस्था नै यस्तो बनेको छ कि सरकारको मान्छे नभई कुनै क्षेत्रको साधक पनि पदमा पुग्न सक्दैन । दलहरूको झण्डामनि बस्नेहरूको एक दिन पालो आउने पनि निश्चित नै छ । सँगै लेखन कार्यमा लागेको साथी १/२ साना किताब लेखेर दलको झण्डामनि ओत लागेकाले सरकारी नियुक्तिमा पर्दा सरकारी गाडीमा बसेर देश घुम्ने र टन्न तलबभत्ता खाने भयो,अर्को साथी २०/२५ वटा स्तरीय किताब लेखेर पनि त्यही झण्डामुनि ओत लाग्न नगएकाले अनेक समस्याले जेलिँदै भौंतारिइरहेको छ । यही हो झण्डामनि रहनु र नरहनुको फल ।

लेखेरमात्र केही हुनेवाला छैन अब के गरोस् त ? ऊ पनि झण्डामनि ओत लाग्न बाध्य हुन्छ । यस्तो स्थिति छ कि सबै प्रज्ञा प्रतिष्ठानमा,भाषा आयोगमा,कतिपय सन्दर्भमा राजदूतमा समेत र अन्य सरकारी संस्थामा त्यै विधि अपनाइएको छ । त्यसो गर्दा आफ्नो संगठन दरो हुने रहेछ । त्यसरी नियुक्ति पाएकाले नियुक्तिकर्ताले भनेअनुसार काम गर्दा रहेछन् । यो विकृति मौलाएको छ अहिले झन् ।

साहित्यिक संस्थाको गठन पनि झण्डामनि ओत लाग्नेलाई समेटेर बनेका छन् । जति राम्रो लेखे पनि केही नलागेपछि बाध्य भएर धेरै स्रष्टा झण्डा बोक्न पुगेका हुन् । स्वन्त्र र स्वाभिमानपूर्ण तबरले लेख्नेलाई अनादर गर्दै पाखा लगाइएको छ । केही फरक पर्दैन सरकारी नियुक्तिमा नपरे पनि ।लेखन स्वतन्त्रै हुनुपर्छ,लेख्दै जानुपर्छ । लेखक दलको दास वा झोले हुने कुराको विरुद्धमा छु म ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
नयाँ लेखक भोलिका नेपाली वाङ्मयको समुन्नतिमा खट्ने पूर्वाधार हुन् । उनीहरूले साहित्यिक हिसाबले देश कस्तो बनाउने आजैदेखि सोच्नुपर्छ । दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र  साधनामा जुट्नुपर्छ । नयाँ विधा जन्माउनुभन्दा चालू विधालाई परिपाक पार्न तर्फ ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update