काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला २०८२ मंसिर मसान्तमा १५औँ महाधिवेशन गर्न नसकिए २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा उनले आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने भन्दै २०८२ पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने बताएका हुन् ।
२०८२ पुस मसान्तसम्मको महाधिवेशन तालिका बनाँउदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने उनको भनाई छ ।
‘विगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न’, कोइरालाले भने, ‘म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्टको अन्त्य गर्न चाहन्छु ।’
उनले कोही कसैप्रति आग्रह-पुर्वाग्रह नराखी अघि बढ्नुपर्ने बताए । कोइरालाले पार्टीका लाखौँ शुभेच्छुकहरु र बाह्य सबै पक्षले अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेकाले अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्ने धारणा राखे ।

