Harsamaya
विश्वासको बजार
ग्राफिक्सः हर समय/harsamaya

मृत्युलाई सबैले दोष दिन्छन् 
जीवन लियो भन्छन्।
तर मान्छेले कहिल्यै सोच्दैन 
विश्वासको घातले आत्मा लिन्छ ।

मृत्युले त केवल सास चोर्छ,
घातले आत्माको उज्यालो हराउँछ
कसैले आँखा चिम्लेर भरोसा गरेँ भने,
फर्केर उसैले लाञ्छना लगाउँछ ।

आजकल मान्छेहरू,
साँचो भन्दा झूटलाई मिठो भन्छन्।
अनि झूटो हाँसो देखाएर,
अरूको दुखमा व्यङ्ग्य गर्छन्।

कसैले भन्यो -
“इमानदार भएर के फाइदा?”
म मुस्कुराएँ र भनेँ -
“कम्तीमा सुन्दा त आत्मा रिसाउँदैन।”

जीवनको बजारमा,
विश्वास अब नाफा नदिने व्यापार भएको छ।
यहाँ माया पनि सर्तमा बिक्छ,
र मित्रता पनि स्वार्थमा तौलिइन्छ।

तर मलाई अझै लाग्छ-
केही मान्छे अझै असल होउन्,
जसको मुस्कानमा धूर्तता नहोस्।

फेरि कहिले काहीँ लाग्छ,
मृत्यु सजिलो छ, विश्वासघात कठिन।
मृत्युले शरीर लिन्छ,
तर विश्वासले आत्मा र निद्रा दुवै चोर्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update