
काठमाडौं – गर्मी बढेसँगै डिहाइड्रेसन (शरीरमा पानीको कमी) हुने समस्या तीव्र रूपमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार गर्मी मौसममा पसिनाको मात्रा अत्यधिक हुने भएकाले मानिसको शरीरलाई प्रशस्त पानीको आवश्यकता पर्छ। तर, धेरैले तिर्खा लागेपछि मात्र पानी पिउने बानीले समस्या निम्त्याउने गरेको देखिएको छ।
चिकित्सकको भनाइ अनुसार सामान्य अवस्थामा एक वयस्क व्यक्तिले दिनमा कम्तीमा २.५ देखि ३.५ लिटर पानी सेवन गर्नु उपयुक्त हुन्छ। तर, गर्मी मौसममा यो मात्रा अझै बढाउनु आवश्यक हुन्छ। विशेषगरी बाहिरी काम गर्ने, शारीरिक परिश्रम गर्ने वा घाममा धेरै समय बिताउने व्यक्तिहरूले पाँच लिटरसम्म पानी पिउनुपर्ने हुन्छ।
चिकित्सकहरूले पानीसँगै झोलयुक्त पदार्थहरू जस्तै नरिवल पानी, कागती पानी, सर्बत, मौसमी फलफूल र हरियो तरकारीको पनि नियमित सेवन गर्न सुझाव दिएका छन्। शरीरलाई पानी चाहिएको छ, न कि चिया, कफी वा बोतलका चिसो पेय, यी पदार्थहरूले तातो बढाउने र शरीरलाई झन् सुक्खा बनाउने खतरा हुन्छ।
बालबालिका, गर्भवती महिला र वृद्धहरूमा डिहाइड्रेसनको जोखिम उच्च हुने भएकाले उनीहरूको डिहाइड्रेशनमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। धेरैजसो बिरामीले समयमा पानी नपिउँदा अस्पताल आउनुपर्ने अवस्था आउने गरेको जनाइएको छ।
गर्मी याममा शरीरलाई स्वस्थ राख्न नियमित अन्तरालमा पानी पिउनु, झोलयुक्त पदार्थको सेवन बढाउनु र अत्यधिक घाममा ननिस्कनु नै उत्तम उपाय भएको चिकित्सकहरूको भनाइ छ।