जनकपुर - धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।
विगत एक हप्तादेखि सरकारले तोके अनुसारको तलब पाउनु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आज जनकपुरधामस्थित मधेस भवन (मधेस प्रदेशका मन्त्रालयहरू भएको स्थान) अगाडि सडकमै बसेर विरोध प्रदर्शन गरे ।
जनकपुरधामका निजी अस्पतालहरूले चिकित्सकहरूलाई कार्य अवधि भन्दा बढी काम गराउने, ८ हजार देखि १२ हजार सम्म तलब मात्र दिने, कुनै गुनासो गरे कामबाट हटाउने जस्ता कार्य गर्ने गरेको विरोध प्रदर्शनमा बसेका चिकित्सक उदय साहले बताए ।
आफ्ना समस्याहरू सम्बन्धित सम्पूर्ण निकायहरूलाई गएर सुनाए पछि आश्वासन बाहेक केही नपाएको उनीहरूको आरोप छ । आजै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई छलफलका लागी बोलाएर उनीहरूको समस्या सुनेका थिए । तर प्रजिअ प्रेम प्रसाद लुइँटेलले उनीहरूको समस्या समाधान सम्बन्धित निकायले मात्र गर्न सक्ने र जिल्ला प्रशासन कार्यालयको हक अधिकार भन्दा माथिको कुरा रहेको बताएका थिए ।
चिकित्सक साहले न्यूनतम तलब ज्याला आफूहरूले पाउने वातावरण नबने सम्म आन्दोलन जारी राख्ने बताए ।

