काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला र विभिन्न रोग भएका व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।
विभागले मधुमेहलगायतका रोग भएका तथा क्याफिनप्रति संवेदनशील व्यक्तिलाई पनि यस्ता पेय पदार्थ सेवन नगर्न सुझाव दिएको हो। इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने स्वस्थ व्यक्तिले समेत दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न विभागले अनुरोध गरेको छ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।
विभागले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा निकायहरूको वैज्ञानिक आधार उद्धृत गर्दै स्वस्थ वयस्कले सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त गर्ने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी हुन नहुने जनाएको छ।
त्यस्तै, इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न तथा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि विभागले आग्रह गरेको छ।
उत्पादक तथा विक्रेतालाई भने आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा राख्न निर्देशन दिइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई जानकारी गराइएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

