Harsamaya
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
ग्राफिक्स: हर समय/Har Samaya

नवीन सोच, गहिरो अध्ययन र निरन्तर साधनामा समर्पित नाम हो प्रा.डा. लक्ष्मणप्रसाद गौतम। नेपाली साहित्यको उज्यालो आकाशमा चम्किलो नक्षत्रझैँ उदाएका गौतमको जन्म वि.सं. २०२० असार २५ गते बागलुङमा माता यमुना र पिता शशिधर गौतमको कोखबाट भएको हो। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधिसम्मको अध्ययन गरेका गौतम हाल कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा प्राध्यापनमा संलग्न छन्। उनको स्थायी ठेगाना भरतपुर महानगरपालिका–४, चितवन हो।

उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा : एक समीक्षा’ शीर्षकको समालोचना राष्ट्र सन्देश पत्रिकामा प्रकाशित गरी समालोचना क्षेत्रमा प्रवेश गरेका हुन् । 

गौतमका प्रमुख समालोचनात्मक कृतिहरूमा नन्दनको काव्यिक परिवेश, चितवनको साहित्य : सर्वेक्षण र विश्लेषण, सान्दर्भिक समालोचना, समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण, नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता, नेपाली कथाको इतिहास, आधुनिक नेपाली कविताको बृहत् इतिहास लगायत १६ वटा उत्कृष्ट कृति प्रकाशित छन्।

सृजनात्मक पक्षमा ऊहापोह नामक कथासङ्ग्रह (२०७४) र अन्य निबन्ध, कविता, कथा उनका उल्लेखनीय कृतिहरू हुन्। साथै, अनुसन्धानमा विश्वविद्यालय अनुदान आयोग, डिनको कार्यालय, त्रिविवि, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका संस्थामार्फत विभिन्न परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। 

सम्पादन कार्यमा पनि उनको योगदान अतुलनीय छ—शब्दहरू अविराम यात्रामा, आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, नेपाली यौनकथा–२, समकालीन नेपाली द्वन्द्वकथा, प्रज्ञा समकालीन कविता, कथा र विमर्श तथा रत्न बृहत् नेपाली समालोचनाको तीनवटै खण्डहरू (सैद्धान्तिक, प्रायोगिक, तेस्रो खण्ड) उनका मुख्य सम्पादित कृतिहरू हुन्।

साहित्यिक सेवा र नेतृत्वमा उनले साढे चार दशकदेखि साहित्य साधनामा र तीन दशकदेखि समालोचनामा सक्रिय छन् । चितवन वाङ्मय प्रतिष्ठान, नारायणी कलामन्दिर जस्ता संस्थाका संस्थापक सचिव र पदाधिकारी रहनुका साथै मधूलिका, मारुनी, मृगतृष्णा, ऋचा, बालकुमारी जस्ता साहित्यिक पत्रिकाहरूको सम्पादनमा उनको अग्रणी भूमिका छ। मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका महासचिवका रूपमा उनले नेपाली भाषाको मानकीकरण र विश्वव्यापीकरणमा महत्वपूर्ण योगदान गरेका छन् । 

उनले म्यान्मार र थाइल्याण्डमा नेपाली भाषाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा निर्देशिका निर्माण गरी ५०० भन्दा बढी नेपाली शिक्षकहरूलाई प्रशिक्षण दिएका छन्। देश–विदेशका विश्वविद्यालयहरू, आयोगहरू र अनुसन्धान केन्द्रहरूमा विषय विज्ञ तथा सल्लाहकारका रूपमा पनि उनको विशिष्ट उपस्थिति छ।

प्रा.डा. गौतमले नेपाली साहित्य र भाषाको उत्थानका लागि पुर्‍याएको योगदानस्वरुप चार दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरूबाट सम्मानित भइसकेका छन्, जसले उहाँलाई समर्पण, सिर्जनशीलता र नेतृत्वको जीवित प्रतीक बनाएको छ। उनै गौतमसँग हरसमयका जयराम सापकोटाले गरेको साहित्यिक वार्ता  प्रस्तुत छ:

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मेरो साहित्य लेखनको प्रारम्भ कविताबाट भएको हो र २०३६ को नयाँ पुकार पत्रिकामा प्रकाशित ‘मातृभूमि’शीर्षकको कविता नै मेरो प्रथम प्रकाशित रचना हो । मेरो लेखनको मुख्य विधा चाहिँ समालोचनामा हो । २०४७ को राष्ट्र सन्देश पत्रिकामा प्रकाशित बीपीको सुम्निमा : एक समीक्षा शीर्षकको लेख मेरो प्रथम प्रकाशित समालोचना हो । २०४७ देखि म समालोचना लेखनमा निरन्तर सक्रिय छु ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
म कसैको वैयक्तिक प्रभावबाट होइन–आफ्नै अन्तश्चेतनाबाट प्रभावित भएर साहित्यमा लागेको हुँ र यस क्षेत्रमा शून्यबाट अघि बढ्दै आएको हुँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
लेखन गतिविधि सामान्य नै छ । यति काम गर्नु छ भनेर धेरै योजना त छन् तर ती योजना अहिलेसम्म मूर्त रूपमा आउन सकेका छैनन् । म अत्यन्त व्यस्त भएको हुनाले चाहे जस्तो किसिमले लेखन अघि बढ्न सकेको छैन ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि असन्तुष्टि भन्ने कुरा सापेक्ष हुन्छ । वर्तमान लेखन जे जस्तो छ र जे जसरी अघि बढिरहेको छ, त्यसप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । पछिल्लो समयमा निकै सशक्त लेखकहरू आइरहेका छन् । यसलाई सङ्ख्यात्मक र गुणात्मक वृद्धिका अनुपातमा हेर्नुपर्छ । अहिले देखिएको सङ्ख्यात्मक वृद्धिमात्र हेर्दा सन्तुष्ट हुन नसकिएला, सङ्ख्यात्मक वृद्धिमात्र मूल प्रवाहको लेखन होइन– गुणात्मक वृद्धि नै मूल प्रवाहको लेखन हो र यसले नै इतिहास बनाउने हो, यसबाट म सन्तुष्ट छु । अर्को कुरा वर्तमान लेखन भनेको आजको लेखन हो, अहिलेको लेखन हो र वर्तमानलाई सम्बोधन गर्ने लेखन पनि हो । यस मूल प्रवाहको लेखनमा जुन नवीन गति, प्रवृत्ति तथा दिशा देखिएको छ र बहुलतालाई आजको लेखनले सम्बोधन गरेको छ, त्यसबाट म सन्तुष्ट छु ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
योजना त धेरै छन् तर व्यस्तताले भ्याएको छैन । तथापि सबैभन्दा निकटको योजनाचाहिँ एउटा निबन्ध सङ्ग्रहको तयारी हुँदैछ । त्यसपछिको अर्को योजना एउटा नवीन किसिमको समालोचनाको योजनामा छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य राष्ट्रका लागि मुटु अनि प्राण दुवै हो र हुनुपर्छ । राष्ट्रले साहित्यलाई मुटु र प्राणतत्त्व ठान्नुपर्छ तर नेपालमा ठीक उल्टो छ । प्रज्ञा–प्रतिष्ठानमा थोरै बजेट छर्नुबाहेक, केही पुरस्कार स्थापना गर्नुबाहेक र साहित्यको ज्ञाताझैँ नेताहरूले कुनै औपचारिक साहित्यिक कार्यक्रममा भाषण छाँट्नुबाहेक साहित्यप्रति सरकार पूणरूपमा गैरजिम्मेवार छ भन्ने बुझ्न अन्त कहीँ जानुपर्दैन, यही २०८२ को बजेट भाषणको पूर्णपाठ हेरे पुग्छ । त्यति लामोबजेट भाषणमा भाषा साहित्यका लागि एक शब्द पनि उल्लेख छैन, पूरै बेवास्ता छ । राष्ट्रका लागि विकासका अरू सबै कुरा शरीर हुन्, भाषा साहित्य राष्ट्रको प्राणतत्त्व हो । राष्ट्रले यो प्राणतत्त्वलाई उपेक्षा गर्नुहुँदैन र आफ्नो मूल कार्यक्रममा साहित्यलाई प्राथमिकताका साथ समेट्नुपर्छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो साहित्यिक आदर्श भनेको लेखनमा इमानदारी र नैतिकता हो । म अहिले धेरै साहित्यकारको द्वैध चरित्र र प्रवृत्ति देखिरहेको छु । ती लेखनमा बडो आदर्शका कुरा गर्छन्, आदर्शका कुरा लेख्छन्, आफूलाई महान् परिवर्तनकामी पनि ठान्छन् तर व्यवहारमा ती अर्कै देखिन्छन् र कतिपयले त इतर विचारका धेरैलाई निषेध पनि गर्छन् तर साहित्यिक आदर्श यो होइन । त्यसैले लेखनमा इमानदारी र नैतिकता हुनुपर्छ र यो नै आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
लेखकको काम लेख्ने हो । जीवन र समाजका कुरा लेख्ने हो । उनीहरूले आफ्नो लेखकीय दायित्व राम्रोसँग वहन गरिरहेका छन् भन्ने लाग्छ मलाई त । अर्का कुरा लेखक जहिले पनि सत्ताभन्दा बाहिर हुन्छ, अर्थात् ऊ सधैँ प्रतिपक्षी हुन्छ । प्रतिपक्षी हुन्छ भन्नुको तात्पर्य सत्तालाई उसले सचेत बनाउँछ भन्ने हो– जुन कुरा नेपाली लेखकले गरिरहेका छन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
यो सन्तुष्टि भन्ने कुरा पनि सापेक्ष हुन्छ । सुरूमा आफ्ना कृति जसलाई पनि राम्रा लाग्छन्, सबैलाई निकै राम्रो लेखेँ भन्ने लाग्छ । जब अध्ययन र लेखनमा परिपक्वता आउँछ र अध्ययनको दायरा फराकिलो हुँदै जान्छ, अनि ती कृति कमजोर लाग्न थाल्छन् । आफ्ना अघिल्ला कृति वा रचनाभन्दा हरेक पछिल्ला कृति उत्कृष्ट बनून् भन्ने इच्छा पूरा भएका दिन ऊ सन्तुष्ट हुन्छ । यस दृष्टिले म आफ्ना कृतिबाट सन्तुष्ट छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
यो कुरा पनि सापेक्ष हुन्छ । हरेक अघिल्लो कालखण्ड वा समयभन्दा पछिल्लो कालखण्ड वा समय गतिशील रूपमा अघि बढिरहेको हुन्छ । प्रत्येक कालखण्डका आ-आफ्ना विशेषता हुन्छन् र यीनै विशेषताका आधारमा हरेक कालखण्ड वा समय विशिष्ट हुन्छ । प्राथमिक कालमा त्यति बेलाकै कृति विशिष्ट थिए, माध्यमिक कालमा त्यति बेलाकै कृति विशिष्ट थिए, आधुनिक कालमा यति बेलाकै कृति विशिष्ट थिए र छन् । अहिले उत्तर आधुनिक कालखण्ड आएको छ र यस कालखण्डमा यति बेलाकै कृतिहरू विशिष्ट बनेका छन्  । यति हुँदाहुँदै पनि एउटा बिर्सनै नहुने कुरा के हो भने जुनसुकै कालखण्डका भए पनि शाश्वत मूल्यका कृति सधैँ विशिष्ट बनेका छन् र ती विशिष्ट नै बनिरहन्छन् । ती कहिल्यै पुराना हुँदैनन् । अहिले पनि सर्वाधिक विक्री हुने कृतिमा उनै भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, विश्वेश्वरप्रसाद कोइराला, पारिजात आदिका कृति पर्दछन् । त्यसकारण हिजोको साहित्य राम्रो आजको नराम्रो वा हिजोको साहित्य नराम्रो आजको राम्रो भन्ने कुरा कुरा हुँदैन अर्थात् ‘पुराणमित्येव न साधु सर्वं न चापि काव्यं नवमित्यवद्यम्’ । तथापि अत्यधिक तीव्र रूपमा भइरहेको सूचना प्रविधिको विकास तथा प्रभावले आजको साहित्य बढी अनुप्राणित भएकाले आजको साहित्यमा केही पृथक्, विषय र शैलीमा नवीनता छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
विचारमात्र पनि साहित्य होइन र कलामात्र पनि साहित्य होइन, यी दुवैको कुशल समीकरण साहित्य हो । यो ‘सर्वजनहिताय सर्वजनसुखाय’ हुनुपर्छ र साहित्यले समय, समाज र आजको मान्छेलाई सम्बोधन गरेको हुनुपर्छ । सबैभन्दा ठूलो कुरा के हो भने मान्छेको चेतनालाई परिष्कार गर्ने खालको, आफ्नो देश र आफ्नोपनप्रति गौरवबोध जागृत गराउने खालको साहित्य लेखिनु आजको आवश्यकता हो ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
प्रेरणा दिने अनेक तत्त्व हुन्छन् । प्रथमतः आफ्नै अन्तश्चेतनाले घचघच्याउनुपर्छ । आफ्नो अत्यन्त निकटका प्रिय व्यक्तिले पनि थाहै नपाई प्रेरकको काम गरिरहेका हुन्छन् । यस्ता प्रत्यक्ष/अप्रत्यक्ष तत्त्व अनेक हुन्छन् । मेरो लेखनमा पनि यस्ता तत्त्वले प्रभाव पारेका छन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
लेख्ने कुनै त्यस्तो निश्चित समय हुँदैन र छैन पनि । अतिशय व्यस्तताले गर्दा यतिखेर लेख्छु भन्ने पनि हुँदैन । समय व्यवस्थापन गर्दै जाँदा बेलुका ८ देखि ११ बजेको समय प्रायः मेरो भागमा पर्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
म मान्छेको भीडभाडमा लेख्न सक्दिनँ । अत्यन्तै एकान्त र शान्त वातावरण मेरा लागि अति प्रिय छन्, तर तिनलाई सधैँ प्राप्त गर्न कठिन छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
समालोचन लेखन प्रायः योजनाबद्ध र निर्धारित हुने भएकाले विषयवस्तु तदनुरूप निर्धारित हुन्छ नै तर सृजनाका हकमा भने विषयको स्फुरणमा भर पर्छ ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
निरन्तर साधना, अध्ययन, चिन्तन, लेखनप्रतिको निष्ठा, नवीन दृष्टि पृथक्ताको खोजी सफल स्रष्टाका लागि आवश्यक गुण हुन् भन्ने लाग्छ ।

नेपाली साहित्यमा मूलतः कवितामा यहाँले विम्बको गहन अध्ययन गर्दै आउनुभएको छ,विम्ब र प्रतीकप्रति यहाँको कुनै धारणा?
मैले कवितामा विम्बबारे दुई दशकअघि नै अध्ययन गरेको थिएँ र २०६० मा साझा प्रकाशनबाट ‘समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण’ कृति प्रकाशन भएको हो । यो कृति नै विम्बबारे लेखिएको नेपाली साहित्यको पहिलो र आजसम्मका हकमा अन्तिम कृति हो । विम्ब र प्रतीकलाई पहिचान–लेखनसँग सम्बद्ध गरेर वा पहिचान साहित्यमा प्रयोग भएका विम्ब तथा प्रतीकको अध्ययन गरेर हेर्दा मैले अनुभूत गरेको कुरा के हो भने हरेक जाति अनि क्षेत्रका आ-आफ्ना सांस्कृतिक विशिष्टता छन् र तीबाट विम्ब, प्रतीक र मिथकहरू ग्रहण गरेर लेखिएका रचना वा कृति निकै शक्तिशाली बनेका छन् । अनेकौँ स्रष्टाका कवितामा प्रयोग भएका विम्ब, प्रतीक र मिथकले पहिचानका स्वरलाई कलात्मक रूपमा अभिव्यक्त गरेका छन् । विम्ब, प्रतीक र मिथकले नछोपिएको पहिचान लेखन केवल नारामात्र हुन्छ । पहिचान लेखनलाई नारा हुनबाट जोगाउने अनि बचाउने नै विम्ब, प्रतीक र मिथकहरू हुन् र कवितामा यिनको प्रयोग बढी हुन्छ ।

यहाँले उत्तरआधुनिकताको व्याख्या र समालोचना पनि गर्दै आउनुभएको छ, के हो उत्तरआधुनिकता भनेको ?
उत्तरआधुनिकतावाद बहुलवादी अवधारणा, चिन्तन, दर्शन र सिद्धान्त हो । यसले एक केन्द्रको विरोध गर्छ र बहुकेन्द्र अनि नवकेन्द्रलाई स्वीकार गर्छ । नेपाली साहित्यमा उत्तरआधुनिक समालोचनालगायतका कृतिको अध्ययन उपयोगी हुन सक्ला । उत्तरआधुनिकता बहुलतावादी सौन्दर्य–चिन्तन वा बहुरङ्गवादी चिन्तनमा विश्वास राख्ने सिद्धान्त हो । नेपाली साहित्यका सन्दर्भमा बहुलताका विविधतामय रङको सौन्दर्यको मिश्रणबाट निर्मित पृथक् रङको सौन्दर्य नै हो ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update